सुदूरपश्चिम प्रदेशको मुकाम समेत रहेको कैलालीमा भने सादा पोशाकमा खटिनका लागि प्रहरीभित्र हानथाप हुने गरेको छ । खासगरि यसअघि सादा पोशाकमा खटिएर काम गरिसकेका प्रहरीहरू नै पुन: जिम्मेवारी हत्याउन प्रतिस्पर्धीविरुद्ध षड्यन्त्र गर्ने गरेको आरोप लाग्ने गरेको छ । कैलाली प्रहरीमा पछिल्लो समय एकअर्काविरुद्ध माथिल्लो कार्यालयमा बेनामी उजुरी हाल्ने प्रवृत्ति समेत बढेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका विभिन्न फाँटमा कार्यरत प्रहरीहरूविरुद्ध बेनामी उजुरी परेपछि कारबाही प्रक्रिया समेत अघि बढेको स्रोतले जनाएको छ । वडा प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी नायब निरीक्षक(सई) दिपेन्द्र किमाडीविरुद्ध समेत जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । तर, जिल्ला प्रहरी कार्यालयले उनीविरुद्धको उजुरीमाथि छानविन नै नगरि प्रदेश प्रहरी कार्यालयमा काज सरुवा गरेको छ । उजुरीको सम्बन्धमा छानविन हुने बताउँदै कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नरेन्द्र चन्दले तालुक कार्यालयको निर्देशनअनुसार किमाडीको सरुवा गरिएको बताए ।

विवादीत छविका किमाडी यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा सादा पोशाकमा खटाइएका थिए । जिल्ला प्रहरी कार्यालयमा सादा पोशाकको प्रहरीको नेतृत्व लिन खोजेका किमाडीको प्रदेश प्रहरी कार्यालय सरुवा भएपछि पुन: सादा पोशाकमै जिम्मेवारीमा फर्किन खोजेका थिए तर जिल्ला प्रहरी कार्यालयमा उजुरी रहेका कारण तत्काल प्रदेश प्रहरी कार्यालयले परिभाषित जिम्मेवारी दिएको छैन । सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) डम्बरबहादुर बिश्वकर्माले लामो समयदेखि सादा पोशाकको जिम्मेवारीमा रहेका र विवादीत छवि भएका प्रहरीहरूमाथि कारवाही प्रक्रिया अघि बढाइएको बताए । उनले कैलालीसहित प्रदेशका सबै जिल्लामा लामो समयदेखि सादा पोशाकमा खटिएका प्रहरीहरूको जिम्मेवारी हेरफेर गर्ने काम भइरहेको बताए भने उजुरी परेका प्रहरीको हकमा प्रहरीमै तानेर छानविन अघि बढाइएको सुनाए । ‘विभिन्न जिल्लामा लामो समयदेखि सादा पोशाकमा खटिएर गलत आचारण अवलम्बन गरेका, संगठनको बदनाम गर्ने गतिविधिमा संलग्न भएकाहरूका कारण समस्या देखिएपछि कारबाही प्रक्रिया अघि बढाइएको छ,’ डीआईजी विश्वकर्माले भने, ‘त्यसैले गुुनासो आएका र समस्या देखिएका ठाउँमा तत्कालै एक्सन लिने काम भइरहेको छ । विवादित प्रहरीलाई प्रदेशमै झिकाएर छानबिन हुन्छ । दोषी देखिएमा कारवाही गछौँ ।’
Post Comment