जेनजी आन्दोलनमा ध्वस्त संरचना पुननिर्माणका लागि वीरगन्ज महानगरकाे बजेट संशोधन
४ असोज, वीरगन्ज ।
वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन गरिएको बजेटलाई संशोधन गरी पुनःनिर्माणमा खर्च गर्ने निर्णय गरेको छ । शनिबार आयाेजित विशेष अधिवेशन (विशेष नगर सभा) ले पुननिर्माणसम्बन्धी प्रस्ताव सर्वसम्मतले पारित गरेको हो । गत भदौ २४ गते जेनजीले गरेको आन्दोलनका क्रममा अराजक समुहले महानगरपालिकाको कार्यालय भवनसहित सम्पूर्ण संरचना आगजनी, तोडफोड र लुटपाट गरेर ध्वस्त बनाएको थियो ।

महानगरको सम्पत्ति खरानी बनेपछि नगरवासीलाई सेवा प्रवाहमा निरन्तरता दिन पुननिर्माणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउँदै नगरसभाले चालु आर्थिक वर्षको बजेट संशोधन गरेर पुननिर्माण कार्यमा लगानी गर्ने निर्णय गरेको हाे। नगरसभामा महानगरका मेयर राजेशमान सिंहले संशोधित बजेट पेस गरेका थिए । यसअघि महानगरको १७ औं नगर परिषदले चालु आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको थियो ।उक्त बजेटभित्र नगरस्तरीय पूँजीगत योजना, सामाजिक विकास कार्यक्रम तथा वडा स्तरका योजनामा विनियोजन गरिएको रकमलाई पुनःनिर्माणतर्फ स्थानान्तरण गर्ने निर्णय शनिबारकाे १८ ओैं नगरसभाले गरेको हो । यसरी संशोधनपश्चात करिब ३० करोड रुपैयाँ पुनःनिर्माणका लागि उपलब्ध हुने भएको छ ।

संशोधित बजेटले प्रशासनिक भवन निर्माण, सवारी साधन खरिद, मेसिनरी उपकरण, ल्यापटप, कम्प्युटर, प्रिन्टर तथा फर्निचर खरिद, कार्यालय भवन मर्मत, गाडी भाडा, बिजुलीबत्ती र अन्य आवश्यक सामग्री खरिदमा खर्च गर्ने प्रावधान गरेको छ । त्यसैगरी, विशेष अधिवेशनले जेनजी आन्दोलनका क्रममा काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर सहादत प्राप्त गरेका वीरगन्ज महानगरपालिका वडा नम्बर १२ का युवा असहाब आलमको परिवारलाई पाँच लाख रुपैयाँ उपलब्ध गराउने प्रस्ताव पनि सर्वसम्मत पारित गरेको छ । यसरी संशोधित बजेटमार्फत तत्काल नगर पुनःनिर्माण, भौतिक संरचना पुनःस्थापना तथा प्रशासनिक क्षमता अभिवृद्धि गर्ने कार्य अघि बढाइने नगरसभाले स्पष्ट पारेको छ ।




Post Comment