२५ भदौ, काठमाडौं।
कालिमाटीमा हिजो प्रहरीले चलाएको गोलीले अर्का व्यक्तिको पनि निधन भएको छ । उदयपुरका ३० वर्षीय देवकुमार सुवेदीको आज बिहान निधन भएको हो। हिजो दिउँसो २ बजेतिर, प्रदर्शन चर्किदै गर्दा प्रहरीले चलाएको गोली सिधै सुवेदीको पेटमा लागेको थियो । पेट च्यातिँदै आन्द्रा बाहिर आएको थियो । तत्कालै बयोदा अस्पताल पुर्याइए पनि धेरै रगत बगेको थियो । डाक्टरले गरेको प्रयास असफल भयो र आज बिहान ९ बजे सुवेदीको निधन उनका जेठान मनिष बास्तोलाले जानकारी दिए ।

उनको निधनले केवल एउटा शरीरलाई मात्रै थामेन, एउटा परिवारको भविष्य नै लुटेको छ । घरमा ८ वर्षीया छोरी बाबाको प्रतिक्षामा छिन् । उनले बाबा कहिले आउने भनेर सोधिरहेकी छन् । उनको प्रश्नको जवाफ कसैले दिन सक्ने अवस्था छैन । आमाले छोरीलाई अँगालो हालेर रोइरहेकी छन्, तर आफैं अर्धचेत अवस्थामा छिन् । ८७ वर्षका बुबा र ७२ वर्षकी आमा छोरा गुमाएको पीडामा एकछिन पनि होसमा बस्न सकेका छैनन् । सुवेदी सडक विभागमा सुरक्षा गार्डको काम गर्थे । दिनरात पसिना बगाएर परिवार पालिरहेका उनी ‘देश बर्बाद हुँदैछ, केही बोल्नुपर्छ’ भन्दै आन्दोलनमा उत्रिएका थिए । तर, आवाज उठाउने उनको आँटले आज उनको प्राण लियो । ‘घरमा ८७ वर्षका बुबा र ७२ वर्षकी आमा छन् । छोरी र श्रीमती अचेत अवस्थामा छन् । लक्का जवान ढलेपछि सबै जना विक्षिप्त अवस्थामा छौैं,’ बास्तोलाले भने ।

देश बिग्रिसक्यो, हामी युवा मिलेर नै बनाउनुपर्छ भनेर प्रदर्शनमा होमिएका सुवेदी प्रहरीको गोली लागेर सधैका लागि अस्ताउन पुगे । हिजो प्रहरीको गोली लागेर कालिमाटी पुल नजिकै ३ जना घाइते भएका थिए । ति मध्ये अर्जुन भट्ट र दिपक साउदको हिजो राति नै निधन भइसकेको अस्पतालले जनाएको छ । सुवेदीले आज बिहान ज्यान गुमाएका हुन् । सुवेदीको निधनसँगै मृतकको संख्या तीन पुगेको छ । सडकमा भइसकेको घटनाले थप आमा–बुबा, श्रीमती र छोराछोरीलाई डराएको छ–‘अर्को मृत्यु कतै हाम्रो घरमा त हुँदैन ?’ अन्य दुई जनामध्ये अर्जुनको अस्पताल पुर्याउँदा नै डाक्टरले मृत घोषणा गरेका थिए । भने दिपकलाई थप उपचारका लागि वीर अस्पताल पठाईएको थियो । उनको त्यही निधन भएको हो । हिजोको जेनजी आन्दोलनका क्रममा कालिमाटी क्षेत्रमा रहेका प्रदर्शनकारीहरूले कालिमाटी प्रहरी वृत्तमा आगजानी गरेका थिए । त्यही क्रममा प्रहरीले गोली चलाउँदा विभिन्न व्यक्तिहरू घाइते भएको थिए । घाइतेमध्ये तीन जनाको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Post Comment