झलनाथ पत्नी रविलक्ष्मी बोल्नसक्ने अवस्थामा, बर्निङ अस्पतालमा उपचार हुँदै
२५ भदौ, काठमाडौं ।
जेनजी आन्दोलनकारीको आगजनीमा परेकी नेकपा एसका नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार अहिले उपचाररत छिन् । उनको मृत्यु भएको हल्ला असत्य भएको सोही पार्टीका नेता एवं पूर्वमन्त्री जीवनराम श्रेष्ठले जानकारी दिए ।हिजोको हिंसात्मक प्रदर्शनका क्रममा आन्दोलनकारीले डल्लुस्थित झलनाथको घरमा पनि आगो लगाइदिएका थिए । त्यसवखत झलनाथ घरबाहिर थिए भने पत्नी रविलक्ष्मी घरमै थिइन् । घरबाट समयमै बाहिर निस्किन नसक्दा उनी आगोमा जलेकी हुन् ।
उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्निङ अस्पतालमा राखिएको छ । चिकित्सकले उनलाई खतरामुक्त भनेको श्रेष्ठले बताए । रविलक्ष्मीलाई जिउँदै मारियो भनी सामाजिक सञ्जालमा अफवाह फैलाइएको थियो । नेता श्रेष्ठका अनुसार उनी बोल्न सक्ने अवस्थामा छिन् । ‘मानवीय संवेदना हराएको यो एउटा गम्भीर नमूना हो’, श्रेष्ठले भने, ‘उहाँको स्वास्थ्यमा सुधार भइरहेको छ, मैले भेटेरै आएको हो ।’ नेता खनाल पनि अहिले अस्पतालमै छन् । उनी श्रीमतीको स्याहारसुसारमा खटिएका छन् । खनाल सकुशल रहेको बुझिएको छ ।
Post Comment