सुनकोसी नदीमा बेपत्ता बालकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले भेटायो
२१ भदौ, सिन्धुली :
दुई दिनदेखि सुनकोसी नदीमा बेपत्ता बालकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले भेटाएको छ। सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ बलेनीघाटस्थित पवन मग्रातीका छोरा १४ वर्षीय प्रख्यात मग्रातीको शव शनिबार सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको हो। शुक्रबार दिउँसो पौडी खेल्ने क्रममा मग्राती सुनकोसी नदीमा बेपत्ता भएका थिए। उनी बेपत्ता भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय खुर्कोट, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन वेश खुर्कोटको टोलीले शुक्रबारदेखि नै खोजतलास सुरु गरेको थियो।
विपद् व्यवस्थापन वेश खुर्कोटका सशस्त्र प्रहरी निरीक्षक ज्ञानेन्द्र राउतको कमाण्डमा खटिएको ९ जना गोताखोर सहितको टोलीले शनिवार बिहान घटना स्थलभन्दा करिब १५ मिटर तल २० फिट गहिराईबाट बालकको शव निकालिएको सशस्त्र प्रहरी बल आश्रित गुल्म सिन्धुलीका प्रमुख (सशस्त्र प्रहरी नायब उपरीक्षक) सुवर्ण पोख्रेलले जानकारी दिए। बालकको शव खोज्न सशस्त्र प्रहरी निरीक्षक ज्ञानेन्द्र राउतको कमाण्डमा गोताखोर सहित सशस्त्र प्रहरीको १३ जना, इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरीक्षक वसन्त बहादुर भुजेलको कमाण्डमा प्रहरी परिचालन गरिएको थियो। गोताखोरको टोलीले बालकको शव नदीबाट झिकी इलाका प्रहरी कार्यालय खुर्कोट समेतको रोहबरमा पोष्टमार्टमका लागि सिन्धुली अस्पताल पठाइएको समेत सशस्त्र प्रहरी नायब उपरीक्षक पोख्रेलको भनाइ छ।
Post Comment