बलात्कार मुद्दामा मधेशका पूर्वप्रदेश प्रमुख पुर्पक्षका लागि थुनामा
१४ साउन, काठमाडौं ।
मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अहिराजमाथि एक महिलाले बलात्कारको आरोप लगाएकी थिइन् । उनी ४ साउनमा पक्राउ परेका थिए । प्रहरीको नौ दिन लामो अनुसन्धानपछि काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
पीडित महिलाका अनुसार ४ जेठ २०८१मा काठमाडौंको नयाँ बानेश्वरस्थित डेरामा आएर अहिराजले बलात्कार गरेका थिए ।एक्लै कोठामा बसेका बेला अहिराजले आएर बलात्कार गरेको पीडितको भनाइ छ । कोठामा आएका झाले पानी दिएलगत्तै ढोकाको चुकुल लगाएर आफ्नो मुख थुन्दै बलात्कार गरेको युवतीको बयान छ ।
‘मैले किन चुकुल लगाउनुभएको भन्दा सिधा आएर मेरो मुख थुनी मलाई बिस्तारामा पछार्नुभो । हल्ला गर्ने चिच्याउने काम गरेमा तेरो आफ्नै बेइज्जत हुन्छ । म त छोरा मान्छे, मलाई केही हुने होइन भन्दै धम्की दिई मेरो घाँटी, मुख बेस्सरी थिच्न थाल्नुभो । त्यति भन्दा पनि मैले चिच्याउने प्रयास गरिरहेको थिएँ । तर अब चिच्याइस् भने करणी गरेर मारिदिन्छु भन्दै मेरो अस्मिता लुटियो’, युवतीले बयान दिएकी छन् ।
Post Comment