कानूनी सुधार, वैदेशिक सम्बन्ध सुदृढीकरण र लगानी वृद्धि सरकारको प्राथमिकतामाः प्रधानमन्त्री
१४ साउन, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनी सुधार, वैदेशिक सम्बन्ध सुदृढीकरण, लगानी प्रवद्र्धन र पूर्वाधार विकास सरकारको प्राथमिकता रहेको बताउनुभएको छ ।राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा नेपाल आत्मनिर्भरतर्फ अघि बढ्ने विश्वास गर्नुभयो ।
उहाँले प्रभावकारी कुटनीतिमार्फत अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ पार्ने प्रयास भइरहेको भन्दै द्विपक्षीय तथा बहुपक्षीय सहकार्यबाट वैदेशिक लगानी, सहयोग र ऋण जुटाउने अवसर सिर्जना गरिएको बताउनु भयो । उहाँले खरिद ऐन र निर्माणसँग सम्बन्धित नीति तथा कानुनको पुनरावलोकन गरी संशोधनको प्रक्रिया थालिएको पनि बताउनु भयो । उहाँले व्यक्तिगत तथा संस्थागत क्षमता विकासमा सरकार केन्द्रित रहेको उल्लेख गर्दै नेपाललाई ‘ल्याण्ड लक्ड’ बाट ‘ल्याण्ड लिंक्ड’ देश बनाउने प्रयास भइरहेको दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘स्तरोन्नतिलाई दिगो बनाई राख्न केही कानून खारेज गर्ने, केही संशोधन गर्ने र केहि कानून नयाँ बनाउनु पर्ने अवस्था रहेकोले यसमा प्रक्रिया अघि बढाइएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभावकारी कुटनीतिमार्फत वैदेशिक सम्बन्ध थप सुदृढ गर्ने प्रयास भएका छन् । अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताहरुको कार्यान्वयनमा प्रभावकारिता बढिरहेको छ ।
द्विपक्षीय बहुपक्षीय सहकार्यबाट पनि अन्तर्राष्ट्रिय सहयोग जुटाउन, लगानी वृद्धि गर्न र ऋण लिन पनि सहयोग पुग्ने गरी अवसर जुटेको छ । खरिद ऐन, निर्माणसँग सम्बन्धित नीति तथा कानूनहरुको अध्ययन गरी संशोधन गर्नेतर्फ केन्द्रित छ । व्यक्तिगत एवं संस्थागत क्षमता विकासमा जोड दिइएको छ । पूर्वाधार तथा कनेक्टिभिटी बढाई नेपाललाई ल्याण्ड लक्डबाट ल्याण्ड लिंक्ड देश बनाउने प्रयास भएका छन् । बहुराष्ट्रिय कम्पनिमार्फत मूल्य श्रृंखलाको विकासमा जोड दिने प्रयास गरिएको छ । निजि क्षेत्रमा पर्ने प्रभाव, श्रम तथा रोजगारको क्षेत्रमा गर्नुपर्ने सुधार एवं व्यापारमा पर्ने प्रभावका सम्बन्धमा सरकारले आवश्यक रणनीति तय गरेको छ । सबै पक्षबाट सहयोग जुटाएर नेपालको यो स्थानान्तरण दिगो बनाउने कुरामा नेपाल सरकार लागि परेको छ ।’ प्रधानमन्त्री ओलीले नेपाल सरकार सबै पक्षसँग सहकार्य गर्दै देशको रुपान्तरणलाई दिगो बनाउने लक्ष्यमा दृढ रहेको स्पष्ट पार्नुभयो ।
Post Comment