सुदूरपश्चिमका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने
१२ साउन, धनगढी।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार विश्वासको मत लिने भएका छन् । सोमबार प्रदेश सभाको बैठक सकिए लगत्तै बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री शाहले बिहीबारको प्रदेश सभा बैठकमा विश्वासको मत लिने निर्णय गरेको हो । कांग्रेसका प्रमुख सचेतक बिक्रम सिंह धामीले शाहलाई विश्वासको मत दिन ह्वीप पनि जारी गरिएको जानकारी दिए ।
उनकाअनुसार प्रदेश सभा सदस्यहरुलाई १५ गतेसम्म प्रदेशको अस्थायी राजधानी धनगढी नछाड्न समेत निर्देशन दिइएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि उक्त दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सरकारले समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था बमोजिम मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् । सुदूरपश्चिम प्रदेशसभामा (एक निलम्बन बाहेक) ५२ जना प्रदेश सभा सदस्य छन् ।
विश्वासको मतका लागि शाहलाई २७ जनाले समर्थन गर्नुपर्ने हुन्छ। अहिले शाहको पक्षमा कांग्रेसका १८ र एमालेका ११ सांसद गरेर २९ जनाको समर्थन भएको उनले विश्वासको मत पाउनेछन्। माओवादी केन्द्रका १०(सभामुख बाहेक), नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ३ जना, राप्रपा र स्वतन्त्र सांसद १÷१ जना प्रदेश सभा सदस्य प्रतिपक्षमा छन् ।
Post Comment