भ्रष्टाचार आरोपमा मुछिएपछि रुसी मन्त्रीले गरे आत्मह*त्या
२४ असार,रुस ।
रुसका यातायातमन्त्री रोमन स्टारोभोइटले पदबाट बर्खास्त गरिएको केही घन्टाभित्र आत्महत्या गरेका छन् । भ्रष्टाचारको आरोप लागेपछि उनलाई रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बर्खास्त गरेका थिए । गोलीको चोट लागेको अवस्थामा स्टारोभोइटको शरीर एउटा निजी गाडीभित्र भेटिएको थियो । रुसको इन्भेस्टिगेटिभ कमिटीकी प्रवक्ता स्वेत्लाना पेत्रेन्कोले प्रथम दृष्टिमा यो आत्महत्याको घटना भएको बताइन् ।
स्टारोभोइटको शरीर स्थानीय समयनअनुसार सोमवार अपराह्न ३ बजे मस्कको बाहिरपट्टि रहेको ओडिन्तसोभोस्थित मालेभिच पार्कमा फेला परेको थियो । उनले उपहारमा पाएको माराकोभ पिस्तोल पनि टेस्ला गाडीभित्र उनीसँगै थियो । यातायातमन्त्री बन्नुअघि स्टारोभोइट कुर्स्क क्षेत्रका गभर्नर थिए । उनले सन् २०२२ देखि २०२४ सम्म कुर्स्कमा प्रशासन चलाउँदा रक्षा क्षेत्रमा निर्माणका लागि विनियोजित बजेटमा भ्रष्टाचार गरेको आरोप लागेको थियो । उनलाई सोमवार बेलुका प्रहरीले पक्राउ गरेर सोधपुछ गर्न खोजेको थियो तर त्यसअघि नै उनले आत्महत्या गरे ।
सन् २०२४ अगस्टमा युक्रेनले कुर्स्क क्षेत्रमा विशाल आक्रमण गरेर त्यहाँको ठूलो भूभागमा नियन्त्रण कायम गरेको थियो । रुसले गत अप्रिल महिनासम्ममा सबै युक्रेनी सैनिकहरूलाई त्यहाँबाट भगाएर त्यसलाई पुनः आफ्नो नियन्त्रणमा लिइसकेको छ । तर, युक्रेनले कुर्स्कमा आक्रमण गर्न लागेको सूचना समयमै संकलन गर्न नसकेको भनी स्टारोभोइटको आलोचना भएको थियो । स्टारोभोइटलाई यातायातमन्त्रीबाट हटाइएपछि आन्द्रे निकितिनलाई कार्यवाहक यातायातमन्त्री बनाइएको छ । उनी पहिला नोभगोरोद क्षेत्रमा गभर्नर भइसकेका व्यक्ति हुन् ।
Post Comment