दिलभूषण पाठकसँग अदालतले माग्यो २५ हजार धरौटी
१९ असार, काठमाडौं ।
पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतले आदेश जारी गरेको छ । साइबर अपराध गरेको आरोपमा मुद्दा दायर भएसँगै पाठक बिहीबार जिल्ला अदालत उपस्थित भएका हुन् । न्यायाधीश खेमराज भट्टराईको इजलासमा आजै उनीविरुद्ध थुनछेक बहस भएको थियो । बहसपछि इजलासले २५ हजार धरौटी माग गर्ने आदेश गरेको हो ।
युट्युब मार्फत घृणा र द्वेष फैलाएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले पाठकविरुद्ध १६ असारमा मुद्दा दायर गरेको थियो । प्रहरीले पक्राउ पुर्जी जारी गरेर पाठकमाथि अनुसन्धान अघि बढाउन खोजेको थियो । उच्च अदालतले ५ असारमा पक्राउ नगर्नु भनी आदेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थिएन । पक्राउ नगरी प्रहरीले उनी विरुद्ध मुद्दा दायर गरेको हो । हिल्टन होटलसँग सम्बन्धित भिडिओमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरलाई जोडेको भन्दै उनी विरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो ।
Post Comment