११ श्रावण २०८२, शनिबार

विधेयकमाथिको छलफल रोकेर सरकार र शिक्षक महासंघबीच वार्ता

१९ जेठ, काठमाडौं ।

विद्यालय शिक्षा विधेयकमाथिको छलफल रोकेर सरकार र शिक्षक महासंघबीच वार्ता भइरहेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले महासंघसँग वार्ता भइरहेको बताए । ‘मन्त्रालयको टिम र महासंघबीच छलफल चलिरहेको छ । वार्ता सकारात्मक छ । धेरै कुरा मिलेको छ,’ मन्त्री पन्तले भने । कर्मचारीको टोली र महासंघबीच कुरा मिलेपछि अन्तिम बैठकमा आफू सहभागी हुने मन्त्री पन्तले बताए । सोमबार बिहान पनि महासंघ र मन्त्रालयको टिमबीच छलफल भएको छ । उक्त छलफलमा सहमति जुटेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।

‘निकै दिनदेखि छलफल भइरहेको छ । केही कुरामा फरक मत थियो, मिलेको छ । अब हाम्रो कोर्टमा छैन । मन्त्रालयले गर्नुपर्ने मन्त्रालयबाट र संसदले गर्ने काम हो,’ अध्यक्ष सुवेदीले भने । अध्यक्ष सुवेदीले विगतमा भएको सहमतिमा भाषा मिलाउने काम भएको बताए । ‘ऐनमा लेख्नका लागि कानुनी भाषा हुन्छ । तिनै सहमतिको भाषा मिलाउने काम भएको छ,’ उनले भने, ‘सहमति भएको विषय मन्त्रालयकोतर्फबाट मन्त्रीज्यूले समिति र संसद्‍मा पेस गर्नुहुन्छ ।’ मन्त्रालयको टिमले महासंघ जुटाएको सहमतिबारे मन्त्री पन्तलाई भने जानकारी गराउन बाँकी छ । शिक्षक महासंघसँग वार्ता चलिरहेका कारण आजका लागि बोलाइएको समितिको बैठक स्थगित गरिएको छ । शिक्षा समिति सभापति अम्मरबहादुर थापा सरकारको कारण बैठक स्थगित गरिएको बताउँछन् । ‘सरकार तयार भएन । पहिला ३ दिन माग्नु भयो ।

फेरि ७ दिन माग्नु भयो । १० दिन दिइसक्यौं । मन्त्रीज्यू महासंघसँग छलफल सकिएको छैन भन्नु हुन्छ,’ सभापति थापाले भने, ‘विधेयकको छलफल अगाडि नबढ्ने भयो ।’ यसअघि गत ११ जेठमा शिक्षा मन्त्री पन्तले महासंघसँग वार्ता गर्न ७ दिनको समय मागेका थिए । मन्त्री पन्तले यो सरकारले गत १७ वैशाखमा सहमति गरेको ९ बुँदे कार्यान्वयन गर्न तयार रहेको तर पहिलाका सरकारले गरेको सहमतिबारे छलफल गर्न समय मागेका हुन् । उनले मागेको समय सकिएको छ । मन्त्री पन्तले आफूले फेरि थप सयम मागेको बताए । मैले समय मागेको हो । सहमतिलाई परिपक्व बनाउन समय लागेको हो,’ मन्त्री पन्तले भने । मन्त्रालय र महासंघबीच कुरा मिलेपछि समितिको बैठक बोलाउने तयारी छ । यसअघि नै १५ असारभित्र ऐन जारी गर्नेगरी शिक्षक महासंघसँग सहमति भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?