सगरमाथामा धेरै फोहोर थुप्रियो, लगिएका खानेकुराका खोल फर्किंदा बेस क्याम्पमा बुझाउने गरौँ: प्रधानमन्त्री
१६ जेठ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा सरसफाईलाई अभियानको रुपमा अघि बढाउन जरुरी रहेको बताउनुभएको छ ।
बिहीवार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सगरमाथामा फोहोरमैलाको धेरै समस्या रहेको उल्लेख गर्दै त्यसलाई सफा गर्नुपर्ने चुनौति रहेको बताउनु भयो ।
उहाँले दुई चरणमा सरसफाई गरिसक्दा पनि अझै सफा भइ नसकेको बताउनु भयो । उहाँले सगरमाथा सफाईका लागि केही नियमहरु बनाउन जरुरी रहेको बताउनु भयो । खानेकुराहरु लैजाने फर्किंदा त्यसको खोल बेस क्याम्पमा ल्याएर बुझाउनुपर्ने नियम राख्न जरुरी रहेको बताउनु भयो । अहिले सरकार ऐनको संशोधन गरिरहेको भन्दै यसमा विभिन्न पक्षहरुले आफ्ना सुझावहरु दिनसक्ने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मैले अहिले पनि सुने साथीहरुका छलफलहरु । त्यसमा म केही भन्न चाहन्न । धेरै केही भनिरहन आवश्यक पनि छैन । यस क्षेत्रमा अहिले खासगरी सगरमाथा क्षेत्रमा फोहोरमैलाको समस्या छ । त्यसलाई सफा गर्नुपर्ने समस्या छ । दुई राउण्ड हामीले त्यसको क्याम्पेन चलाइसक्यौँ तर पनि त्यो भइसकेको छैन ।
अझ पनि हामीले अभियानको रुपमा सगरमाथालाई सफा राख्ने प्रयासलाई निरन्तरता दिनुपर्नेछ । त्यसमा केही रुल्स, रेगुलेशन पनि बनाउनुपर्नेछ । जसले लिएर जान्छ, उसले कुनैपनि फोहोर त्यहाँ गर्न पाउँदैन । जे लिएर गएको हुन्छ, त्यो चिज यदी बिस्कुट खायो भने खोल बुझाउन ल्याउनुपर्छ फेरि बेसक्याम्पमा । यस प्रकारका रुल नराख्ने हो भने अर्को आरोही त्यही फोहोर मात्रै सफा गर्न जानुपर्छ । एक जनाले फ्याँकेको फोहोर फेरि सफा गर्ने अर्को दुई जना चाहिन्छ । फोहोर सफाईको पनि बन्दोबस्त गर्नुपर्ने हो की ? अहिले हामी ऐनको संशोधन पनि गर्दैछौँ । नियमको संशोधन पनि गर्दैछौँ । यसमा विभिन्न पक्षहरुको बारेमा छलफल गर्नेछौँ । त्यहाँको भइरहेको क्लाउडको बारेमा ।’ प्रधानमन्त्री ओलीले सगरमाथा अहिले पहिलाको जस्तो नभएको बताउनु भयो । सगरमाथा चढ्न अहिले धेरै सहज भइसकेको उल्लेख गर्नुभयो ।
Post Comment