२६ जेष्ठ २०८२, आईतवार

ढोरपाटनका मेयर नेपालीलाई कास्की जिल्ला अदालतबाट पनि थुनामा पठाउन आदेश

१३ जेठ, पोखरा ।

पोखराको सूर्यदर्शन सहकारीमा अध्यक्ष बन्न गितेन्द्रबाबु (जीबी) राईले बाटो छेकेपछि बागलुङ र कास्कीमा आफैं सहकारी खोलेर मनमौजी गरेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई दुबै जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । इमेज सहकारी खोलेर जनताको बचत रकम अपचलन गरेको प्रकरणमा बागलुङपछि कास्की जिल्ला अदालतबाट पनि उनलाई पुर्पक्षका लागि थुनामै पठाउने आदेश भएको हो ।

असोज १५ गते बागलुङ जिल्ला अदालतका न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले पुर्पक्षका लागि कारागार चलान भएका देवकुमारलाई सोमबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेस्बासेको इजलासले पनि थुनामै राख्ने आदेश गरेको छ ।सूर्यदर्शन सहकारीमा उपाध्यक्षबाट अध्यक्ष बन्न जीवी राईले नदिएपछि देवकुमारले आफैं सहकारी खोलेर जनताको बचत रकबाट समाजमा ठूलो रवाफ देखाउनेदेखि आफ्ना नाममा बागलुङ, पोखरा, काठमाडौं, नवलपुर, चितवनजस्ता ठाउँमा घरजग्गा जोड्ने, हेलिकप्टरमा सवार गर्ने गरेको उनीमाथि आरोप थियो । २०६८ सालमा पोखरा सिर्जनाचोक र २०६९ सालमा बागलुङमा आफ्नै नेतृत्वमा सहकारी खोलेका देवकुमारले एकाएक धनाड्यका रुपमा देखा परेका थिए । यहीबीचमा उनले बागलुङ बजार, बुर्तिबाङ र पोखरामा ठूला ठूलो भवनहरुसमेत टठ्याएका थिए ।

नेकपा माओवादीबाट टिकट नपाएपछि रातारात एमाले प्रवेश गरेर टिकट पाएर २०७४ सालमा ढोरपाटन नगरपालिकाको मेयर जितेका नेपालीले २०७९ सालको चुनावमा पनि एमालेबाट दोस्रोपटक मेयर जितेका थिए । ओरियन्टल, शिवशिखर, जीवी राईको नेतृत्वमा खुलेका सहकारीबाट बचतकर्ताको रकम हिनामिना भएको सार्वजनिक भएसँगै सूर्यदर्शन, इमेजलगायतका सहकारीबाट पनि ठूलो रकम हिनामिना भएको तथ्य बाहिरिएको थियो । घरको दराजमा राखेजसरी सहकारीको रकम लगेर घरजग्गादेखि व्यक्ति मोजमस्ती र सहकारीको अनुशासनबाहिर गएर रकम अपचलन गरेको अध्ययनबाट खुलेको थियो । एउटा बदमासी छोप्न एकपछि अर्को बदमासी गर्दै जाँदा चरम संकट परेपछि बचतकर्तालाई रकम फिर्ता गर्ने बाचा गरेर मेयर नेपाली ५ जेठ २०८० मा फरार भएका थिए । त्योभन्दा ३ दिन अगाडिमात्र उनले पोखरा महानगरको समन्वयमा सिर्जना चोकको इमेज सहकारी बचतकर्तालाई रकम फिर्ता गर्ने बाचा गरेका थिए ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङमा आर्थिक समस्या भएका कारणले निरन्तर रुपमा मानसिक टर्चर आएको भन्दै मेयर नेपालीले पत्र बुझाएर सम्पत्तिको रक्षा गर्न आग्रह गर्दै फरार भएका थिए । फरार भएको १५ महिनापछि असोज ११ गते नेपालीलाई दिल्लीबाट पक्राउ गरी जहाजमार्फत नेपाल ल्याएर बागलुङ पुर्‍याइएको थियो । बागलुङ र पोखरामा एउटै नामको छुट्टाछुट्टै सहकारी खोलेका देवकुमारलाई छुट्टाछुट्टै अभियोजन दर्ता गरिएको थियो । नेपालीले बागलुङमा मात्र १ अर्ब ३८ करोड रुपैयाँ अपचलन गरेको भन्दै बिगो दाबी गरेर अदालतमा अभियोग दायर भएको थियो भने पोखरामा ५७ करोड ३५ लाख ८४ हजार रुपैयाँ बिगो माग दावी गर्दै २०८० भदौ १२ गते देवकुमारसहित १५ जनालाई विपक्षी बनाएर अभियोग कास्की जिल्ला जिल्ला अदालतमा दर्ता भएको थियो । सहकारी ठगी मुद्दा बागलुङ कारागारमा रहेको देवकुमारलाई कास्की अदालतबाट पनि त्यही थुनामै रहने गरी आदेश गरिएको सूचना अधिकारी दामोदर आचार्यले जानकारी दिए ।

पोखराको इमेज सहकारी ठगी प्रकरणमा बेल्बासेको इजलासमा आइतबार बयान गरेर सोमबार भएको थुनछेक बहसपछि उनलाई थुनामा पठाउने आदेश भएको हो । सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ता शान्ति शर्मा र सविता थकालीले कास्कीका धेरै गरिब जनताको बचत रकम हिनामिना गर्नमा प्रमुख भूमिका रहेको भन्दै देवकुमारलाई थुनामै राख्न माग गर्दै थुनछेक बहस गरेका थिए । फरार मुद्दाका रुपमा अभियोग पत्र दायर भएकोमा उनी पक्राउ परेर सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा बयान गराइएपछि इमेजको हकमा पनि गराइएको थियो । सूर्यदर्शन सहकारी प्रकरणमा भने उनलाई २० लाख धरौटी माग गर्ने अदालतको आदेश थियो । सूर्यदर्शन सहकारीमा उपाध्यक्ष भएर रकम अपचलनमा संलग्न रहेको अभियोगमा उनीसँग धरौटी माग भए पनि इमेज सहकारी ठगी प्रकरणमा भने दुबै जिल्लाबाट पुर्पक्षका लागि थुनामा पुगेका हुन् । जिल्ला अदालतको बयानमा नेपालीले आफूले बचतकर्ताको रकम हिनामिना नगर्ने र आफूसँग भएको सम्पत्ति बेचेर पनि मिलान गर्ने बताएका थिए । उनले एकैपटक धेरै जनाले पैसा निकाल्ने र माग्ने गर्दा आफू अप्ठेरोमा परेको बयानमा बताएका थिए ।

बागलुङ बजारमा मुख्य कार्यालय र बुर्तिबाङ तथा गलकोटमा सेवा केन्द्रका नाममा सहकारी ऐनविपरीत बचत रकम अपचलन गरेका नेपालीले पोखराको सिर्जनाचोकमा रहेको इमेज सहकारीबाट पनि बचत रकम अपचलन गरेको उनीमाथिको अभियोग पत्रमा छ ।सूर्यदर्शन सहकारीमा जीबी र ज्ञानबहादुर बम्जनसँग स्वार्थ नमिलेपछि एक कर्मचारी लिएर निस्किएको र उनीहरुकै इगोमा सहकारी संस्था खोलेको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको रिपोर्टमा समेत उल्लेख छ ।उनीहरुकै इगोमा इमेज सहकारी खोलेका थिए । पैसा संकलन गर्ने शैली सूर्यदर्शनकै कर्मचारीबाट सिकेको प्रस्टै देखिन्छ,’ संसदीय समितिको प्रतिवेदनमा उल्लेख छ । बागलुङ र पोखरा दुबै टाउँमा आफैं अध्यक्ष भएर देवकुमारले सहकारी खोलेका थिए । सञ्चालक समितिमा डमी पात्र राखेर काम गरेको उनी माथिको अभियोगमा छ ।नेपालीले कर्मचारीमार्फत बचतकर्तालाई विभिन्न प्रलोभन देखाउँदै निजी व्यवसाय र घरजग्गामा सहकारीको पैसा लगानी गरेका संसदीय समितिको प्रतिवेदनजस्तै अभियोगमासमेत थियो ।

कृत्रिम शेयर धनी कायम गराई रकम हिनामिना गरेको, संस्थाको नाममा बैंकबाट लिएको कर्जा बापतको किस्ता रकम बैंकलाई भुक्तानी नै नगरी हिसाब मिलान गरेको, पीडितहरुलाई अधिक व्याजको प्रलोभन देखाई सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐनविपरीत काम गरेको अभियोग नेपालीमाथि छ । नेपालीले बचत रकम उनीहरुको व्यक्तिगत खातामा जम्मा नगरी संस्थामा खोलिएका विभिन्न कृत्रिम खातामा रकम जम्मा गरी/गर्न लगाई एउटा खातादेखि अर्को खातामा रकम रकमान्तर गरेका थिए । कास्कीको आदेशपछि बागलुङ थुनामै राखिएका नेपालीले विभिन्न माध्यमबाट बचतकर्ताहरुको रकम फिर्ता गर्दै कारागारमै मिलापत्रसमेत गरिरहेका छन् । जाहेरवाला झण्डै ६ सय बचतकर्ताले मेलमिलाप गरिसकेका छन् । उनले सहकारीका बचतकर्ताका करिब २४ करोड रुपैयाँ घरसारमा मिलान गरेर आंशिक मिलापत्र भएको आदेश जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीले नै गरेका थिए । उनको बागलुङमा लिलाममा रहेका भवन रास्वपाका नेताले सकारेका थिए भने पोखरामा पनि त्यो प्रक्रियामै थियो । जिल्ला अदालत कास्कीको बयानमा पनि नेपालीले आफ्नो सम्पत्तिबाट बचतकर्ताको हिसाब मिलान गर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?