जनताको अधिकारका नाममा गोली प्रहार गर्नु माओवादीको चरम कायरता: कांग्रेस नेता सिटौला
१० जेठ, काठमाडौं ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको अधिकारको लागि भन्दै आम नागरिकमाथि गोली प्रहार गर्नु तत्कालीन माओवादीको हिंसाको चरम कायरता भएको बताएका छन्। शनिबार नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाडौँमा सम्बोधन गर्दै सिटौलाले यस्तो धारणा राखेका हुन्।
उनले जनताको अधिकारका नाममा समाज विकासका लागि महत्वपूर्ण प्रभाव खेल्नसक्ने व्यक्तिहरूमाथि गोली प्रहार गर्नु माओवादी हिंसाको चरम कायरताको चिह्न भएको बताए। सिटौलाले यस्ता प्रकृतिका घटनाहरूबारे चर्चा गर्दा माओवादीका नेताहरूले गल्ती महसुस गर्ने गरेको पनि उल्लेख गरे। “जनताको अधिकारको लागि, समाज विकासको लागि महत्वपूर्ण प्रभाव खेल्नसक्ने मानिसमाथि उनीहरूको गोली प्रहार माओवादीको
हिंसाको चरम कायरताको चिन्ह थियो त्यसबेला,” नेता सिटौलाले भने, “यस्ता प्रकृतिका घटनाहरूबारे चर्चा गर्दा माओवादीका नेताहरूले गल्ती गरेको रियलाइज पनि गर्दछन्। कतिपय ठाउँमा गल्ती भएको छ भन्छन्।” उनले पञ्चायतकालदेखि नै नेपाली कांग्रेस जनताको अधिकारका लागि संगठित भएर लागेको पनि स्मरण गराए। नेता सिटौलाले स्व. रेग्मीले कांग्रेस पार्टी निर्माणमा पुर्याएको प्रभाव र संगठन निर्माणमा देखाएको बाटोमा हिँड्नसके मात्रै उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए।
Post Comment