
६ जेठ, काठमाडौं ।
आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ अन्तर्गत थाइल्याण्डसँगको अन्तिम खेलमा नेपालले फराकिलो हार बेहोरेको छ । नेपाल थाइल्याण्डसँग ७८ रनले पराजित हुँदै एसिया छनोटको उपविजेतामै सीमित रह्यो । थाइल्याण्ड अपराजित रहँदै एसिया छनोटको उपाधि जित्न सफल रह्यो ।

थाइल्याण्डले दिएको १५९ रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ८० रन मात्र बनायो । नेपालका लागि कविता कुँवरले सर्वाधिक २४ रन बनाउँदा राजमती ऐरी २० रनमा नटआउट रहिन् । रुबिना क्षेत्रीले १२ रन बनाइन् । थाइल्याण्डका लागि ओनिचा कामचोम्फुले ह्याट्रिकसहित ४ विकेट लिइन् । उनले १९औं ओभरमा रोमा थापा, ईश्वरी विष्ट र रिया शर्मालाई आउट गरेकी थिइन् । त्यस्तै थिपाथ्चा पुथावोङले ३ विकेट लिइन् । सुलिपर्न लाओमीले १ विकेट लिइन् । त्यसअघि थाइल्याण्डले २० ओभरमा २ विकेट गुमाएर १५८ रन बनाउँदै नेपाललाई १५९ रनको लक्ष्य दिएको थियो ।

थाइल्याण्डका लागि नानपत कोन्चारोन्काइले अविजित ५० रन बनाइन् । उनले २८ बलमा आक्रामक अर्धशतक बनाएकी हुन् । ओपनर नताया बूचाथामले पनि ५० रन बनाइन् । अफिसरा सुवानचोनराथीले २९ रन बनाइन् । नेपालका लागि मनिषा उपाध्याय र राजमती ऐरीले १-१ विकेट लिए ।नेपाल र थाइल्याण्ड दुवैले ग्लोबल छनोटमा स्थान पक्का गरिसकेका छन् । सोमबार भएको खेलमा नेपालले यूएईलाई हराउँदै पहिलोपटक एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको हो । त्यसअघि आइतबार थाइल्याण्डले यूएईलाई हराएर अघिल्लो चरणमा पुग्ने पक्का भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Post Comment