
४ जेठ, काठमाडौं।
राष्ट्रिय मानव अधिकार आयोगले गत चैत १५ गते तीनकुनेमा भएको घटनाको अनुसन्धान पूरा गरेको जनाएको छ। तीनकुने घटनामा मृत्यु भएका पत्रकार सुरेश रजकका परिवारले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै आयोगकी अनुसन्धान अधिकृत मञ्जु खतिवडाले घटना गम्भीर भएकाले द्रुत गतिमा अनुसन्धान सम्पन्न भएको जानकारी दिइन्। उनले अनुसन्धानको निष्कर्षसहितको प्रतिवेदन केही दिनभित्र सार्वजनिक गर्ने तयारी आयोगले गरिरहेको बताइन्।

अनुसन्धानबाट निकालिएको निष्कर्ष, राज्यले पूरा गर्नुपर्ने दायित्व र मृतकका परिवार तथा घाइतेहरूका लागि गर्नुपर्ने सुझावसहितको प्रतिवेदन तयार भएको उनले जानकारी दिइन्। उनले भनिन्, ‘अब तीनकुने घटनाको विषयमा हामीले नियमित अनुसन्धानभन्दा पनि तीव्र गतिमा अनुसन्धान गरेका छौं। यो गम्भीर विषय हो भनेर आयोगले गम्भीरताका साथ लिएको विषय हो। अनुसन्धान शुक्रबार नै सकिएको छ। अहिले प्रिन्ट हुँदैछ। सायद अब एक दुई दिनमा हामी सञ्चारकर्मीबीच आउनेछौं। हामीले के देख्यौं, के पायौं र हामी राज्यको ध्यानाकर्षण गराउँछौं। राज्यले मृतकका परिवारलाई के गर्नुपर्छ र घाइते भएकालाई के गर्नुपर्छ भनेर सुझावसहितको रिपोर्ट तयार पारेका छौं।अनुसन्धान पूर्ण रूपमा सकिइसकेको छ। हामीले यहाँ भएको मानवीय स्रोतभन्दा पनि कस्तो किसिमको गोली चलाइएको हो,

कस्तो छर्रा लागेको हो, दुई जना विज्ञहरू हायर गरेर कमिटी बनाएर सो कमिटीले रिपोर्ट तयार पारेको हो। सूक्ष्म अनुसन्धान गर्नुपर्ने विषय भएकाले अलि समय लागेको हो। त्यसैले हामीले अनुसन्धान सकिसकेका छौं, त्यो अब एक दुई दिनमा तपाईंहरूले थाहा पाइहाल्नु हुन्छ। यति भन्न चाहन्छु कि हामीले अनुसन्धानका काम सकिसकेका छौं, एक दुई दिनमा हामी मिडियामा ल्याउँछौं। राज्यले के गर्नुपर्थ्यो? किन गरेन? किन भएन? भन्ने सबै कुरा मेडिकल रिपोर्टमा भर पर्नुपर्ने हुन्छ। उहाँको पोस्टमार्टम रिपोर्ट र डाक्टरले के भनिदियो भन्नेमा भर पर्नुपर्ने हुनाले हाम्रो समितिभित्र फरेन्सिक डाक्टर पनि हुनुहुन्थ्यो। त्यसैले डाक्टरको विश्लेषणमा भरपर्छ। आजभोलि नै सार्वजनिक हुन्छ, सबै माननीयज्यूहरूको समय हेरेर हामी सार्वजनिक गर्छौं। यो दुःखद घटना हो, सबैप्रति मेरो समवेदना छ। नहुनुपर्ने कुरा भइसक्यो तर पीडितले न्याय पाउनुपर्छ भन्नेमा मानव अधिकार आयोग सधैं ध्यान दिएर काम गर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Post Comment