सशस्त्र प्रहरी सहायक निरीक्षक छत्यालबाट सगरमाथाको सफल आरोहण
४ जेठ, काठमाडौं ।
सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।आज बिहान ९ बजेर २० मिनेटमा उनले ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराउन सफल भएको सगरमाथा बेशक्याम्पमा रहेका समन्वय अधिकृत सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेतले जानकारी दिए ।
सहायक निरीक्षक छत्यालले बैशाख २२ गते ६ हजार १ सय १४ मिटर अग्लो लोबुचे हिमालको समेत सफल आरोहण गरेका थिए । तराई, पहाड हिमाल, सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपाल भन्ने सन्देश सहित सहायक निरीक्षक छत्याल ‘सगरमाथा संवाद ’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा लिएर सगरमाथा आरोहण लागि बैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए । उनलाई बैशाख १४ गते प्रधानमन्त्री केपी शर्मा ओली र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सगरमाथा सफल आरोहणको शुभकामनासहित हार्दिक बिदाइ गरेका थिए । सहायक निरीक्षक छत्याल सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ बगलामुखी विशेष कार्यदल गण हलचोकमा कार्यरत छन् ।
Post Comment