जनकपुरधाम मेयर कपः सितामढीलाई हराउँदै धनुषा सेमिफाइनलमा
२८ वैशाख, जनकपुरधाम –
जनकपुरधाममा जारी तेस्रो जनकपुरधाम मेयर कप टी–२० प्रतियोगितामा जित निकाल्दै धनुषा सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार भएको दिनको पहिलो खेलमा सितामढीबाट १६८ रनको लक्ष्य पाएको धनुषाले ११.४ ओभरमा ४ विकेट गुमाउँदै १३२ रन बनाएपछि डिएल मेथडबाट खेल जितेको छ।
धनुषाको तर्फबाट विशाल सुशलिङ्गले १३ बलमा ३२, अखिलेश यादवले २१ बलमा ३२, मयन यादवले १८ बलमा २९, साजन यादवले १४ बलमा अविजित २३ रन बनाउँदा हिमान्सु दत्तले ५ रन बनाए। बलिङ्गमा सितामढीको तर्फबाट मुकुल रञ्जनले ३ ओभरमा ४४ रन दिएर ३ विकेट लिँदा गुड्डु एले ४ बलमा ५ रन दिएर एक विकेट लिए। यसअघि टस जितेर ब्याटिङ्ग गरेको सितामढीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६७ रन बनाएको थियो।
सितामढीको तर्फबाट वैभव मिश्रले ३९ बलमा ६१ रन बनाउँदा राघव आर्याले २३ बलमा ५० रन बनाएका थिए। यस्तै, अनिकेत आर्याले २८ रन बनाउँदा बाँकी खेलाडी दोहोरो अंकमा रन बनाउन सकेनन्। बलिङमा धनुषाका रुपेश यादवले ४ ओभरमा २५ रन दिएर ३ विकेट लिँदा रामरुप यादव, अविजित मण्डल र हिमांशु दत्तले समान १/१ विकेट लिए। ३ विकेट लिएका यादवलाई म्यान अफ द म्याच दिइएको छ। अहिले दोस्रो खेल सर्लाही र मुजफ्फरपुरबीच सुरु भएको छ। जनकपुरधाम मेयर कपमा मधेस प्रदेशको ८ वटा टिम र भारतको ४ वटा टिम सहभागी रहेको छ।
Post Comment