२६ जेष्ठ २०८२, आईतवार

कपिलवस्तुमा अख्तियारका २ सय ३५ उजुरी

 

२६ वैशाख, कपिलवस्तु ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चालु आर्थिक वर्षको साउन देखि चैत महिना सम्म कपिलवस्तुका २ सय ३५ उजुरी परेका छन् । अख्तियार अनुसन्धान आयोगको कार्यालय बुटवलद्वारा कपिलवस्तुमा तौलिहवा स्थित कपिलवस्तु नगरपालिकाको सभा हलमा  आयोजित भ्रष्ट्राचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया कार्यालयमा सो तथ्याङ्क प्रस्तुत गरिएको हो । संघीय, प्रदेश र स्थानीय तह गरी सो उजुरी परेको हो ।

नौ महिना र गत बर्ष जिम्मेवारी सरेर आएको गरी कुल ३ सय ५० मध्ये २ सय ८० कपिलवस्तुका १० पालिकाबाट आएको हो । आयोगकी बुटवल स्थित कार्यालयकी प्रमुख बिनिता भट्टराईले आफ्नो कार्यक्षेत्रमा पर्ने लुम्बिनी प्रदेशका नौ जिल्लामा कुल १ हजार ४८ उजुरी परेका बताईन । रुपन्देहीमा सबै भन्दा बढी ३ सय ९१ उजुरी परेको छ । रुपन्देही पछि कपिलवस्तु दोश्रो  बढी उजुरी पर्ने जिल्ला रहेको भट्टराईले बताईन । नवलपरासी पश्चिम १ सय १२, अर्घाखाँची ७७,  गुल्मी ७१, नवलपरासी सुस्ता पूर्व ६६, प्युठान १४ र दाङका १३ उजुरी परेका हुन । गत आर्थिक बर्ष जिम्मेवारी सरेर आएका ४ सय ३४ र यस बर्ष नौ जिल्लामा गरी १ हजार ४८ मुद्दा रहेका थियो । जसमध्ये १ हजार ५८ मुद्दा फर्छ्यौट भई ४ सय २४ मुद्दा मात्र बाकी रहेको भट्टराईले बताईन ।

सबै भन्दा बढी कपिलवस्तु नगरपालिकाका ६१, कृष्णनगरका ५९, मायादेबी र यशोधरा गाउँपालिकाका ३१/३१, बाणगंगा नगरपालिका १७, सुद्धोदन १६, ,बिजयनगर १४, महाराजगंज ११ नगरपालिका ११ र शिवराज नगरपालिकाका ९ उजुरी रहेका छन् । उजुरी परेका मध्ये १ सय ३० को विस्तृत अनुसन्धान प्रकृया अघि बढाइएको र त्यस मध्ये ७० वटाको अनुसन्धान सम्पन्न गरिएको भट्टराईले बताईन । सो अवसरमा आयोगमा आयुक्त किशोर कुमार सिलवालले अख्तियारमा उजुरी पर्ने बित्तिकै सबै सकियो भन्ने भ्रम हटाउनु पर्ने बताए । उनले उजुरीका क्रममा बोलाउनु भनेको सफाईकालागि मौका दिएको बुझ्नु पर्ने बताए । सधैँ उजुरीले नराम्रो गर्ने मात्र होइन केहीले राम्रो समेते गर्ने बताए । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यले कपिलवस्तुमा आफैले सहमति गर्ने अनि उसैले अख्तियारमा उजुरी गर्नै प्रवृत्ति बढेको बताए । उनले केहीले दुःख दिनैका लागि समेत उजुरी दिने गरेको बताए । उनले अख्तियारले समेत यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नु पर्ने बताए ।

सो अवसरमा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले आफ्नो पालिकामा अनावश्यक अख्तियारमा उजुरी परेकोले कर्मचारीको मनोबल खस्किएको बताए । उनले अहिले सम्म दिएको उजुरीमा कोही पनि दोषी नदेखिएकाले समेत यो दुःख दिने नियतले नै गरिएको भन्ने प्रस्ट भएको बताए । उनले दुःख दिने नियतले गरिएको उजुरीका बिषयमा अख्तियारले ध्यान दिनु पर्ने बताए । सो अवसरमा प्रजिअ दिल कुमार तामाङले पारदर्शी, जिम्मेवारी र विधि अनुसार काम गर्नु पर्ने बताए । व्यक्ति केन्द्रित र आफूलाई नै साध्य मानेर काम गर्ने प्रबत्तिले गर्दा भ्रष्ट्राचार बढेको उनले बताए । आफूले भ्रष्ट्राचार गरे पनि दूधको धोएको जस्तो देखिने र अरुलाई भ्रष्ट्राचारी देख्ने चलन बढेकोले समेत समस्या आउने गरेको उनले बताए । उनले कानुनले निषेधित गरेका काम गर्न नहुने बताए । कार्यक्रममा १४ जनाले विभिन्न जिज्ञासा राखेका थिए । आयोगका सह सचिव रमेश कुमार केसीले जिज्ञासाका बिषयमा सुझाव दिएका थिए । कार्यक्रममा महराजगंज नगरपालिकाका मेयर अब्दुल कलाम खाँ, बाणगंगा नगरपालिकाका मेयर चक्रपाणि अर्याल, मायादेबी गाउँपालिका अध्यक्ष वलीउद्दीन मुसलमान लगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment