सिंहदरबारमा बोतल र जारको पानी बन्द हुन्छ : मन्त्री यादव
१० बैशाख, काठमाडौं :
खानेपानी मन्त्री प्रदीप यादवले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा अब बोतल र जारको पानी बन्द हुने बताएका छन्। सिंहदरबारभित्र मेलम्चीको खानेपानी वितरणका लागि विभिन्न ठाउँ एवं धारा निर्माण गर्ने क्षेत्रको स्थलगत अनुगमन गर्दै मन्त्री यादवले वर्षौदेखि सिंहदरबारमा प्रयोग गरिँदै आएको जार र बोतलको पानी अब सधैंका लागि अन्त्य गरिने बताए।
‘सिंहदरबारमा वर्षौंदेखि प्रयोग हुँदै आएका जार, बोतलको पानी विस्थापित गर्ने लक्ष्यअनुसार काम अगाडि बढेको छ। चाँडै मेलम्चीको शुद्ध खानेपानी वितरण हुन्छ,’ मन्त्री यादवले भने। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायत यहाँका मन्त्रालयहरूमा मेलम्चीको पानी वितरण गर्नका लागि मन्त्री यादवसहितको टोलीले आज अनुगमन गरेको हो।
वैशाख अन्तिम सातासम्म सिंदरबारमा मेलम्चीको सफा, शुद्ध पानी वितरण गरिने मन्त्री यादवले जिकिर गरे। उनले भने, ‘मेलम्चीको शुद्ध पानी उपलब्ध भएपछि सिंहदरबारमा हालः प्रयोग भइरहेको बोतल र जारको पानी क्रमश: विस्थापन गर्ने मेरो स्पष्ट योजना छ। शुद्ध पानी सबैको पहुँचमा पुर्याउन हामी एकजुट भई अघि बढ्नुपर्छ।’

Post Comment