कबिलासीको सिर्सियामा सामुदायिक भवनको शिलान्यास
वैशाख ८ , सर्लाही ।
कबिलासी नगरपालिका–७, सिर्सियामा आज एक कार्यक्रमका बीच सामुदायिक भवनको शिलान्यास गरिएको छ।प्रदेशसभा सदस्य उपेन्द्र महतोले उक्त भवनको शिलान्यास गर्नु भएको हो। सामुदायिक उपयोगका लागि निर्माण गर्न लागिएको सो भवनको निर्माणका लागि प्रदेश सरकारबाट रू २५ लाख बजेट विनियोजन गरिएको जनाइएको छ।
शिलान्यास कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य महतोले ग्रामीण भेगको सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिका लागि यस्तो संरचना आवश्यक रहेको बताउनुभयो। उहाँले स्थानीयस्तरमै सुविधा सम्पन्न भवन निर्माण भएसँगै यहाँका बासिन्दालाई आफ्ना गतिविधि सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, स्थानीय समाजसेवी, बुद्धिजीवी र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।उक्त भवन निर्माण सम्पन्न भएपछि सिर्सिया लगायत आसपासका बस्तीका बासिन्दालाई सामूहिक कार्यक्रम, सभा तथा सामाजिक कार्य सञ्चालन गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।
Post Comment