
२४ चैत, काठमाडौं–
आज विश्व स्वास्थ्य दिवस, ‘स्वस्थ सुरुवात, समृद्ध भविष्य’ भन्ने नाराका साथ नेपाल लगायत विश्वभर मनाइदैछ । विश्व स्वास्थ्य सङ्गठन (डब्लु एच ओे)को स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन विश्व स्वास्थ्य दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा मातृ तथा नवजात शिशु स्वास्थ्यलाई केन्द्रित गर्दै आज वर्षव्यापी अभियानको शुभारम्भ गर्ने कार्यक्रम छ ।

स्वस्थ सुरुवात, समृद्ध भविष्य भन्ने मूल नारासहित यस अभियानले सरकार र स्वास्थ्य क्षेत्रमा कार्यरत सरोकारवालालाई मातृ तथा नवजात शिशु मृत्यु न्यूनीकरणका लागि प्रयासहरू तीव्र बनाउन र महिलाको दीर्घकालीन स्वास्थ्य तथा आरोग्यतालाई प्राथमिकता दिन आग्रह गर्छ ।यस अवसरमा, विश्व स्वास्थ्य सङ्गठन तथा साझेदार संस्थाहरूले स्वस्थ गर्भावस्था, सुरक्षित प्रसूति तथा सुत्केरीपछिको स्वास्थ्य प्रवर्द्धन गर्न सन्देशमूलक जानकारीहरू प्रदान गर्नेछन् ।

सन् १९४८ मा विश्व स्वास्थ्य सङ्गठनको स्थापना भएको पाँच वर्षपछि सन् १९५३ मा नेपाल सदस्य राष्ट्र बनेको थियो । जनस्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका सफलताहरूको स्मरण गर्नुको साथै वर्तमान र भविष्यका स्वास्थ्य चुनौतीहरूको सम्बोधन गर्न स्वास्थ्य प्रणालीलाई अझै सुदृढ बनाउने अवसरको रूपमा पनि यस दिवसलाई लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Post Comment