पत्रकार रजक र महर्जनको परिवारलाई भाटभटेनीले पाँच र तीन लाख आर्थिक सहयोग गर्ने
२० चैत, काठमाडौँ –
भाटभटेनीका संचालक मीन बहादुर गुरुङले चैत्र १५ गतेको राजावादी आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सविन महर्जनलाई आर्थिक सहयोगको घोषणा गरेका छन् ।
बुधबार चैत्र १५ गते भएको राजावादी आन्दोलनका क्रममा भएको लुटपाटको क्रममा साहसिक काम गर्ने सुरक्षा गार्ड तुलप्रसाद पराजुली लगायत सुरक्षा गार्ड र कर्मचारीलाई भाटभेटनी सुपरमार्केटले सम्मान गर्ने कार्यक्रममा गुरुङले पत्रकार रजकको परिवारलाई ५ लाख र महर्जनको परिवारलाई ३ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।
भाटभटेनीले चैत्र १५ गते भएको राजावादी आन्दोलनका क्रममा भएको लुटपाटको क्रममा साहसिक काम गर्ने सुरक्षा गार्ड पराजुलीलाई ५ लाख नगद र पाँच ग्रेड बढुवा गरेको हो । त्यस्तै अन्य गार्ड र कर्मचारीहरुलाई २५ हजार नगद र एक ग्रेड प्रमोसन गरेको छ । सुपरमार्केटमा तोडफोड तथा लुटपाट गरिरहेको समयमा कर्तव्य निर्वाह गर्दै अग्रपंक्तिमा खटिएका कर्मचारी तथा व्यापारलाई निरन्तरता दिन रातभर मर्मत सम्भारमा लाग्न खटिएका कर्मचारीलाई सुपरमार्केटले सम्मान गरेको हो ।
लुटपाटको क्रममा पराजुलीले लुटपाटमा संलग्नमाथि गरेको कारबाही अहिले सामाजिक सञ्जालमा भाइरल छ । दर्जनौँ संख्यामा रहेका व्यक्तिहरूलाई उनले लिस्टीले कुट्दै भगाएको भिडियो देख्न सकिन्छ । उक्त घटनाका क्रममा करिब ८० लाख रुपैयाँ बराबरको क्षति भएको कम्पनीले जनाएको छ । त्यसमध्ये ६४ लाख ८८ हजार बराबरको सामान लुटिएको बताइएको छ । उक्त घटनापछि पनि शनिबार बिहानदेखि नै सुपरमार्केट सञ्चालनमा आएको थियो ।
Post Comment