अखिल क्रान्तिकारीको मतगणनामा विवाद
१३ माघ, काठमाडौं ।
अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचनको मतगणना विवादका कारण रोकिएको छ । विश्वविद्यालय र विशेष प्रदेशको मतगणना सुरु गर्नुअघि निर्वाचन समितिले कालो मसीले मतदान भएको जानकारी गराएपछि उम्मेदवारका प्रतिनिधिहरुले विरोध जनाएका थिए । मतदान गर्ने स्थानमा रातो साइनपेन राखिएको थियो । तर कालो मसीले पनि मतदान भएको जानकारी निर्वाचन समितिका प्रतिनिधिहरुले गराएका थिए । अध्यक्षका उम्मेदवार विजय सापकोटाका प्रतिनिधि यादव ढुंगाना र रमेश खड्काले कालो मसीलाई पनि मान्यता दिनुपर्ने भनाइ राखेका थिए भने अर्का उम्मेदवार उपदेश यादवका प्रतिनिधिहरुले त्यसको विरोध गरेका थिए । राति अबेरसम्म यसमै गलफत्ती परेपछि मतगणना रोकिएको हो ।
उपदेश यादव पक्षकाले विशेष प्रदेश, विश्वविद्यालय प्रदेश र मधेशलाई आफ्नो आधार क्षेत्र ठान्ने गर्दछन् । त्यसैले रातो–कालो मसीको विवादमा उपदेश यादव पक्षले बढी विरोध जनाएको देखिन्छ । विशेष प्रदेशमा २६४, विश्वविद्यालय प्रदेशमा २५८ र मधेश प्रदेशमा १९५ मत खसेको छ । मधेश प्रदेशमा पनि करिब आधा मत गणना गरेर रोकिएको छ । त्यहाँ उपदेशले सबैभन्दा धेरै ३० मत पाएका छन् । अध्यक्षका अर्का प्रत्यासीद्वय विजयप्रकाश सापकोटा र हेमन्त राईले समान २०/२० मत पाएका छन् ।
अहिलेसम्म प्राप्त मतपरिणाम अनुसार विजय र हेमन्तबीच कडा प्रतिस्पर्धा छ । उपदेश तेस्रो र सुदिन पौडेल चौथो स्थानमा छन् । विजय प्रचण्ड निकट, हेमन्त जनार्दन शर्मा निकट, उपदेश नारायणकाजी श्रेष्ठ निकट र सुदिन वर्षमान पुन निकट मानिन्छन् । उनीहरुले अघोषित रुपमा प्यानल बनाएर चुनावमा प्रतिस्पर्धा गरेका थिए । निर्वाचन शनिबार बालमिकी विद्यापीठ प्रदर्शनीमार्गमा भएको थियो । मतगणना पनि सोही स्थानमा भइरहेको छ ।
Post Comment