शुक्रबारदेखि काभा महिला च्याम्पियनसिप सुरु हुँदै, उपाधिका लागि ८ राष्ट्र प्रतिस्पर्धामा
सारांश
- महिला भलिबलको प्रतिस्पर्धात्मक माहोल फेरि एकपटक काठमाडौंमा देखिने भएको छ ।
- शुक्रबारदेखि सुरु हुने काभा महिला भलिबल च्याम्पियनसिपमा घरेलु टोली नेपालसहित ८ राष्ट्र उपाधिका लागि प्रतिस्पर्धामा उत्रँदैछन् ।
- घरेलु समर्थकको साथ, अनुभवी र युवा खेलाडीको मिश्रण तथा पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बढेको आत्मविश्वासका कारण नेपालमाथि यसपटक विशेष चासो देखिएको छ ।
काठमाडौं ।
महिला भलिबलको प्रतिस्पर्धात्मक माहोल फेरि एकपटक काठमाडौंमा देखिने भएको छ । शुक्रबारदेखि सुरु हुने काभा महिला भलिबल च्याम्पियनसिपमा घरेलु टोली नेपालसहित ८ राष्ट्र उपाधिका लागि प्रतिस्पर्धामा उत्रँदैछन् । घरेलु समर्थकको साथ, अनुभवी र युवा खेलाडीको मिश्रण तथा पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बढेको आत्मविश्वासका कारण नेपालमाथि यसपटक विशेष चासो देखिएको छ ।

प्रतियोगितामा नेपाल, भारत, किर्गिस्तान र माल्दिभ्स समूह ‘ए’ मा छन् भने ईरान, काजखस्तान, श्रीलंका र बंगलादेश समूह ‘बी’ मा रहेका छन् । नेपालले आफ्नो पहिलो खेल जेठ ८ गते साविक विजेता भारतविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपाल–भारतबीचको प्रतिस्पर्धालाई प्रतियोगिताकै आकर्षक खेलका रूपमा हेरिएको छ । बिहीबार आयोजित प्रि–म्याच पत्रकार सम्मेलनमा निरुता ठगुन्नाले घरेलु कोर्टमा खेल्दा दर्शकको साथ टोलीका लागि ठूलो ऊर्जा बन्ने बताइन् । पहिलो पटक राष्ट्रिय टोलीको कप्तानी गरिरहेकी निरुताले टोलीमा अनुभवी र युवा खेलाडीबीच राम्रो समन्वय रहेको उल्लेख गर्दै नेपाल राम्रो प्रदर्शनका लागि तयार रहेको बताइन् ।

उनले भनिन्, ‘घरेलु दर्शकको साथले खेलाडीलाई थप हौसला दिन्छ । हाम्रो तयारी राम्रो छ र हामी प्रतियोगितामा सकारात्मक सुरुआत गर्ने लक्ष्यमा छौँ ।’ यस्तै, साविक विजेता भारतकी कप्तान नन्दनाले छोटो तयारी भए पनि टोली उपाधि रक्षा गर्ने लक्ष्यसहित काठमाडौं आएको बताइन् । उनले दक्षिण एसियाली टोलीहरूबीच प्रतिस्पर्धा पछिल्ला वर्षहरूमा झनै कडा बन्दै गएको उल्लेख गरिन् । काजखस्तानकी कप्तान नतालियाले पनि सीमित तयारीका बाबजुद आफ्नो टोली उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने बताइन् । नेपालमा पछिल्ला वर्षहरूमा महिला भलिबलप्रति दर्शकको आकर्षण उल्लेख्य रूपमा बढ्दै गएको छ । घरेलु मैदानमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा दर्शकको उत्साहपूर्ण उपस्थितिले नेपाली टोलीलाई अतिरिक्त आत्मविश्वास दिने अपेक्षा गरिएको छ । यही कारण यसपटकको काभा महिला च्याम्पियनसिप केवल उपाधि प्रतिस्पर्धामा मात्र सीमित नभई नेपाली महिला भलिबलको लोकप्रियता र सम्भावनाको अर्को परीक्षणका रूपमा पनि हेरिएको छ ।


प्रतिक्रिया