२६ जेष्ठ २०८२, आईतवार

प्राथमिक स्वास्थ्य केन्द्र जमुनियाको नयाँ प्रसूति भवन उद्घाटन

 

सर्लाहीको कविलासी नगरपालिका–६ जमुनियाँमा प्राथमिक स्वास्थ्य केन्द्रको प्रसूति केन्द्र भवनको उद्घाटन भव्य समारोहका बीच सम्पन्न भएको छ। उक्त भवनको उद्घाटन कविलासी नगरपालिकाका नगर प्रमुख ब्रहमदेव राय र उपप्रमुख पुनम कर्णले संयुक्त रूपमा रिबन काटेर गरे।

कार्यक्रमको अध्यक्षता नगर प्रमुख ब्रहमदेव राय यादवले गरेका थिए। कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह, सहायक प्रमुख जिल्ला अधिकारी होम बहादुर घिमिरे, जनस्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख नवल किशोर झा, कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज किशोर महतो, नेपाली कांग्रेसका नेता कृष्णदेव यादव, वडा नं ६ का अध्यक्ष पुरुषोत्तम राय, वन हर्टका जिल्ला संयोजक अमरेन्द्र राय लगायतका विशिष्ट अतिथि सहभागी थिए।

कार्यक्रम वडा नं ६ का अध्यक्ष पुरुषोत्तम रायको स्वागत मन्तव्यबाट सुरु भएको थियो। प्राथमिक स्वास्थ्य केन्द्र जमुनियाँका प्रमुख जितेन्द्र कुमार यादवले प्रगति विवरण प्रस्तुत गर्दै केन्द्रले हालसम्म गरेका उपलब्धिहरू र भावी योजनाहरूबारे जानकारी गराए।

 

नगर प्रमुख रायले कार्यक्रममा सम्बोधन गर्दै स्वास्थ्यकर्मीहरूले आफ्नो निष्ठा र कर्तव्यका साथ सेवा पुर्याएकोमा प्रशंसा गर्दै आगामी दिनमा स्वास्थ्य सेवाहरू थप प्रभावकारी र व्यवस्थित बनाउन स्थानीय तह र प्रदेश सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रसूति केन्द्र भवनको निर्माण कविलासी नगरपालिका र वन हर्ट वर्ल्डवाइडको संयुक्त लगानीमा सम्पन्न भएको हो। भवन निर्माणका लागि कुल लागत २९ लाख ५१ हजार ९ सय ५६ रुपैयाँ खर्च भएको थियो। यसमा कविलासी नगरपालिकाले ५० प्रतिशत र वन हर्ट वर्ल्डवाइडले ५० प्रतिशत लगानी गरेका छन्।

यस भवनको निर्माणसँगै सर्लाहीको यो क्षेत्रमा सुरक्षित मातृत्व सेवा प्रवर्द्धनमा उल्लेखनीय योगदान पुग्ने विश्वास गरिएको छ। समारोहमा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, व्यापारी, नागरिक समाज, बुद्धिजीवी, र स्वास्थ्य स्वयंसेविका समूहको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?