२६ जेष्ठ २०८२, आईतवार

वाइडबडी प्रकरणमा कंसाकारसहित चार जना भ्रष्टाचारी ठहर, पूर्वमन्त्री शाहीलाई सफाइ

२१ मंसीर, काठमाडौं ।

चर्चित वाइडबडी भ्रष्टाचार प्रकरणमा नेपाल वायुसेवा निगमका तत्कालीन कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकार​ दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले बिहीबार वाइडबडी भ्रष्टाचार प्रकरणमा उनलाई दोषी ठहर गरेको हो । अदालतले शंकरप्रसाद अधिकारी, शिशिर कुमार ढुङ्गाना र बुद्धिसागर लामिछानेलाई पनि दोषी ठहर गरेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । उनका अनुसार सुगतरत्नमाथि दुई वर्ष नौ महिना कैद सजाय भएको छ । तर कंसाकारलाई जम्मा दुई वर्ष नौ महिना कैद सजाय भए पनि उमेर ७४ वर्ष पुगिसकेको हुनाले जेष्ठ नागरिकले पाउने सुविधा अनुसार उनले कैदमा ५० प्रतिशत  छुट पाउने छन् । त्यस आधारमा साढे १६ महिना उनको कैद हुने भएको छ ।

यसैगरी अधिकारी,  ढुङ्गाना र  लामिछानेमाथि एक वर्ष छ महिना कैद सजाय भएको छ । दोषी ठहर भएका अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव थिए। विभागीय मन्त्रालयको सचिव भएकैले अधिकारीमाथि थप तीन महिना कैदसमेत भएको छ ।  अधिकारी र ढुङ्गानाले नेपाल सरकारको सचिवबाट अवकाश पाइसकेका छन्। यसैगरी सहसचिव लामिछाने भने निलम्बनमा थिए।  सहसचिव लामिछाने पर्यटन मन्त्रालयका तर्फबाट नेपाल नागरिक उड्डयन प्राधिकरणमा तत्कालीन अवस्थामा सञ्चालक समिति सदस्य थिए । यसैगरी  पूर्व अर्थसचिव समेत रहेका ढुंगाना तत्कालीन समयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव रहेका बेला वाइडबडी विमान खरिद समझदारीपत्र स्वीकृत गर्न गठित समितिका संयोजक थिए ।

अदालतले कुल बिगो १ अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँको दामासाहीका हिसाबले १२ करोड २५ लाख ९० हजार रुपैयाँ जरिवाना कायम गर्नुका साथै बिगो असुल उपर हुने फैसला समेत गरेको छ ।  यी चार नेपालीबाहेक विदेशी नागरिकहरू दीपक शर्मा, क्रिस्नियन नैलुनसहित अन्यको हकमा पनि एक वर्ष ६ महिना कैद र जनही १२ करोड २५ लाख ९० हजार रुपैयाँ जरिवाना तथा बिगो असुल उपर हुने फैसला भएको छ । तर थप दुईजना विदेशी नागरिकले भने सफाइ पाएका छन् । त्यसबाहेक प्रतिवादी कायम भएकामध्ये पूर्वमन्त्री जीवनबहादुर शाहीसहित बाँकी सबै नेपाली प्रतिवादीहरूले सफाइ पाएका छन्। सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार अख्तियारले ३२ जनालाई प्रतिवादी बनाएको थियो ।

त्यसैगरी, टेकनाथ आचार्य, निमानुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवन सिटौला र अच्युतराज पहाडीलाई पनि प्रतिवादी बनाइएको थियो ।  अच्युतराज पहाडी त्यसबेला नेपाल वायुसेवा निगम सञ्चालक समितिका सदस्य थिए । पहाडी निगमको इन्जिनियरिङ निर्देशकबाट अवकाशप्राप्त हुन् । त्यसैगरी, सम्पत्ति शुद्धीकरण विभागका तत्कालीन महानिर्देशक जीवनप्रकाश सिटौला त्यसबेला सरकारका तर्फबाट निगम सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सदस्य थिए ।

त्यस्तै, तत्कालीन निर्देशक कर्णबहादुर थापा, वरिष्ठ क्याप्टेन सुवास रिजाल, तत्कालीन निर्देशक प्रकाशकुमार कर्माचार्य, हाल नायव महाप्रबन्धक रहेका जनकराज कालाखेती, तत्कालीन निर्देशक रामहरि शर्मा सेढाईं, वरिष्ठ क्याप्टेन रविन्द्रकुमार शेरचन, तत्कालीन कामु निर्देशक रविन्द्र श्रेष्ठ, हालका निर्देशक उपेन्द्र पौडेल र हाल निर्देशक एवं वरिष्ठ क्याप्टेन श्रवण रिजाल समेत सो प्रकरणमा मुछिएका थिए ।  अख्तियारले तत्कालीन उपनिर्देशक पारस पौडेल, हालका निर्देशक उमेश पौडेल, हाल उपनिर्देशक बृहतमान तुलाधर र नेपाली मूलका बेलायती नागरिक दीपक शर्मासहित अन्य ६ जना विदेशी नागरिक र दुई आपूर्तिकर्ता कम्पनीलाई प्रतिवादी बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?