१० श्रावण २०८२, शुक्रबार

सर्लाहीको ईश्वरपुरमा पोखरीभित्र कार खस्दा दुई जना बेपत्ता 

 

जनार्जन खत्री 

सर्लाही, कार्तिक २० गते।

सर्लाहीको ईश्वरपुर नगरपालिका–२, भक्तिपुर मियाँखोरमा मङ्गलबार बिहानपख पोखरीमा कार खस्दा दुई जना बेपत्ता भएका छन् ।

मियाँखोरस्थित सडक छेउमा रहेको सरस्वती माध्यमिक विद्यालयको पोखरीमा बयलवासबाट महोत्तरीको गौशालातर्फ गइरहेको लु २ च ६७५८ नम्वरको कार अनियन्त्रित भई खस्दा कार चालक गौशाला नगरपालिका–२, महोत्तरीका ३७ वर्षीय सुरेश महतो र कारमा सवार सोनमा गाउँपालिका–८, महोत्तरीका ३७ वर्षीय रामाकान्त ठाकुर बेपत्ता भएका हुन् । कारमा सवार गौशाला नगरपालिका–२, का ३१ वर्षीय जनक यादव भने सकुशल बाहिर निस्कन सफल भएका प्रहरीले जनायो ।

कारसहित पोखरीमा डुबेर बेपत्ता दुई जनाको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको घटनास्थलमै रहेका इलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासका प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिए । महोत्तरीको बर्दीबासस्थित सशस्त्र प्रहरी बलको छिन्नमस्ता बाहिनीबाट गोताखोर टोली समेत भर्खरै घटनास्थलमा आइपुगेको छ ।

ईश्वरपुर नगरपालिका २ का वडाध्यक्ष सुरेन्द्र कार्कीका अनुसार मङ्गलबार बिहान २ देखि ३ बजेको आसपासमा कार दुर्घटना भएको हुनसक्ने आशङ्का गरिएको छ ।

पोखरीबाट बाहिर निस्कन सफल कारमा सवार जनक यादवले स्थानीयलाई जानकारी गराएपछि बिहान ४ बजेपछि प्रहरीको टोली घटनास्थलमा पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?