सुधार केन्द्रमा राखिएका व्यक्तिको मृ*त्यु, परिवारद्वारा प्रहरीमा उजुरी
सारांश
- झापाको बिर्तामोडस्थित शान्ति समूह नेपाल सुधार केन्द्रमा उपचाररत इलामका नरबहादुर बस्नेतको शंकास्पद मृत्यु भएको छ ।
- मादक पदार्थ सेवनको लत छुटाउन इलाम फाकफोकथुममा बस्नेतलाई परिवारले उनलाई तीन महिनासम्म सुधार केन्द्रमा राख्ने गरी असोज २५ गते भर्ना गराएको थियो ।
- भर्ना भएको दुई दिनपछि असोज २७ गते बस्नेतको रहस्यमय मृत्यु भएको छ ।
विराटनगर । झापाको बिर्तामोडस्थित शान्ति समूह नेपाल सुधार केन्द्रमा उपचाररत इलामका नरबहादुर बस्नेतको शंकास्पद मृत्यु भएको छ । मादक पदार्थ सेवनको लत छुटाउन इलाम फाकफोकथुममा बस्नेतलाई परिवारले उनलाई तीन महिनासम्म सुधार केन्द्रमा राख्ने गरी असोज २५ गते भर्ना गराएको थियो ।
भर्ना भएको दुई दिनपछि असोज २७ गते बस्नेतको रहस्यमय मृत्यु भएको छ । बस्नेतका परिवारलाई सुधार केन्द्रका सन्चालकले बस्नेत बिरामी परेको जानकारी गराएका थिए । परिवारका सदस्य पुग्नुअघि नै उनको मृत्यु भइसकेको परिवारले जनाएका छन् ।

घटनापछि सार्वजनिक भएको भनिएको सीसीटीभी भिडियोमा युवकलाई हातखुट्टा बाँधेर राखिएको र उनीमाथि कुटपिट गरिएको देखिएको छ ।
मृतकका भाइ ३१ वर्षीय तारा बस्नेतले प्रहरीमा दिएको जाहेरीअनुसार सुधार केन्द्रका सञ्चालकले नरबहादुरलाई उपचारका लागि सुरुमा कञ्चनजङ्घा अस्पताल र त्यसपछि बिर्ता सिटी अस्पताल पुर्याएका थिए । बिर्ता सिटी अस्पतालमा चिकित्सकले जाँच गर्दा उनको मृत्यु भइसकेको पाइएको थियो ।
शवगृहमा दाजुको शव हेर्दा शरीरका विभिन्न भागमा चोटपटक देखिएको तारा बस्नेतले बताएका छन् । उनले सुधार केन्द्रका सञ्चालकको लापरवाहीका कारण दाजुको मृत्यु भएको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।
भिडियो सार्वजनिक
सार्वजनिक भएको सीसीटीभी भिडियोमा नरबहादुरलाई कोठाभित्र अस्पतालको शय्याजस्तो संरचनामा हातखुट्टा बाँधेर राखिएको देखिन्छ ।
पीडाले छटपटाइरहेका बेला सोही कोठामा रहेका तीन–चार जनाले उनको शरीरका विभिन्न भागमा थिचेको दृश्यसमेत भिडियोमा देखिएको छ । परिवारले भिडियोसहित प्रहरीमा जाहेरी दिएका छन । भिडियोमा एक जनाले बेडमा सुतेका व्यक्तिको दाहिने हातमा डोरी बाँधेको, अर्का व्यक्तिले गालामा थप्पड हानेको र अर्को एक जनाले लट्ठी बोकेको देखिन्छ ।
जिल्ला प्रहरी कार्यालय झापाले घटनाको विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।
सम्बन्धित खबर
प्रतिक्रिया