‘मलाई पहिलो पटक पार्टी उपाध्यक्षको जिम्मेवारी यही अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट प्रदान गरिएको थियो । र सोही समयमा हामीले यो ठाउँलाई अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, खेलमैदान लगायतका पूर्वाधार बनाउनुपर्छ भन्ने कुरा भएको थियो । र त्यो सबै आज पूरा भएको छ । हामी सबैको लागि खुशीको कुरा हो,’ भण्डारीले भनिन् ।
भण्डारीले एमालेले आफूलाई वरिष्ठ नेतामा मनोनयन गरेकोमा खुशी व्यक्त गर्दै औपचारिक रूपमा जिम्मेवारी निर्वाह गर्ने प्रक्रिया भने टुङ्गो लाग्न बाँकी रहेको बताइन् ।
‘आज यहाँ अन्तर्राष्ट्रिय विमानस्थल बन्यो, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनेको छ, राम्रो राम्रो बाटो पनि बनेको छ । अब उद्योग व्यवसायलाई कसरी अगाडि बढाउने ? उद्योग व्यवसायमा लागेका मित्रहरुसँग सरसल्लाह गरे औद्योगिक क्षेत्रमा रहेका समस्या समाधान गर्दै हामी अगाडि लाग्नुपर्ने छ । विश्वमा यसै प्रसिद्ध रहेको लुम्बिनी यी सबै संरचना बनेपछि झनै प्रसिद्ध भएको छ,’ भण्डारीले भनिन्, ‘सुखद् संयोग भन्नुपर्छ, यो पार्टीले मलाई वरिष्ठ नेता मनोनीत गरेको छ । मैले त आफूलाई वरिष्ठ नेता भन्न चाहेको थिएन सबै जनाले भन्ने गर्नुहुन्छ । हुन त औपचारिक रुपमा कसरी जिम्मेवारीमा सुरुवात गर्ने हो ? टुंगो लागिसकेको छैन । तर पनि यहाँ गौरव लागेको छ ।’
हालै सम्पन्न एमाले केन्द्रिय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ नेतामा मनोनीत गरेको थियो ।
प्रतिक्रिया