आईपीयुको दिगो विकास स्थायी समितिमा अञ्जान शाक्य विजयी

Raju Yadav Raju Yadav
|
आइतबार, चैत्र २४, २०८१
|
|
२ पटक हेरिएको
Shares
आईपीयुको दिगो विकास स्थायी समितिमा अञ्जान शाक्य विजयी

सारांश

  •   २४ चैत, काठमाडौं ।
  • राष्ट्रिय सभा सदस्य डा.
  • अञ्जान शाक्य अन्तर–व्यवस्थापिका संघ (आईपीयु) को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट विजयी भएकी छन् ।

 

२४ चैत, काठमाडौं ।

राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्य अन्तर–व्यवस्थापिका संघ (आईपीयु) को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट विजयी भएकी छन् । उज्वेकिस्तानको राजधानी तास्कन्दमा भएको सम्मेलनमा उनले नेपालबाट प्रतिनिधित्व गरेकी थिइन् । उनीसँगै माल्दिभ्स र इरानबाट पनि उम्मेदवारी परेको थियो । दुबै उम्मेदवारलाई पछि पार्दै शाक्य विजयी भएकी हुन् । नेपालले पहिलो पटक उपस्थिति जनाउँदा नै यो मञ्चमा सफलता हात पारेको हो ।

सभामुख देवराज घिमिरे सहितको टोली अहिले उज्वेकिस्तानमा छ ।  सभामुख घिमिरेले दिगो विकासको क्षेत्रमा गहिरो अनुभव हासिल गरेकी शाक्यले अन्तर्राष्ट्रिय मञ्चमा नेपालका तर्फबाट सशक्त भूमिका निर्वाह गर्न सक्ने अपेक्षा लिएको भन्दै आईपीयुको दिगो विकास स्थायी समितिमा रहेका ३६ देशका सभामुखलाई पत्र लेख्दै शाक्यको समर्थनका लागि आग्रह गरेका थिए । सभामुख घिमिरे र सांसद डाक्टर शाक्यसहितको प्रतिनिधि मण्डल अन्तरव्यवस्थापिका संघको १५० औं वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी हुन उज्वेकिस्तानको राजधानी तास्कन्द पुगेको हो । शाक्यले त्यहाँ दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रको तर्फबाट उम्मेदवारी प्रस्तुत गरेकी थिइन् ।

शाक्यले आफ्नो जितसँगै यसले नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय मञ्चमा पनि बढाउन सहयोग पुर्याएको महसुस गरेको बताइन् । ‘सभामुखज्युले पत्र लेखेर नै मेरो समर्थनका लागि आग्रह गर्नुभएको थियो,’ शाक्यले भनिन्, ‘मैले पनि व्यक्तिगत रुपमा मेरो समर्थनका लागि आग्रह गरेकी थिएँ । हामी सबैको प्रयासले यो सफलता प्राप्त भयो ।’ शाक्यले सकारात्मक पहलका लागि प्रधानमन्त्री, सभामुख, संसद सचिवालयको अन्तर्राष्ट्रिय महाशाखा लगायतलाई पनि धन्यवाद व्यक्त गरिन् । सांसद शाक्य राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति सदस्य तथा सोही समितिको दिगो विकास उपसमिति संयोजक  छिन् । उहाँकै नेतृत्वमा ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन प्रतिवेदन–२०८१’ प्रतिवेदन तयार गरी राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिलाई बुझाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?