त्रिभुवन विमानस्थल खुल्ने समय बढ्यो, एयरलाइन्सले झिके भैरहवा उडान

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १९, २०८१
|
|
३४ पटक हेरिएको
Shares
त्रिभुवन विमानस्थल खुल्ने समय बढ्यो, एयरलाइन्सले झिके भैरहवा उडान

सारांश

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबारदेखि उडान संख्या बढेको छ ।
  • यही मेसोमा भैरहवाबाट भने वायुसेवा कम्पनीहरूले उडान झिकेका छन् ।
  • भैरहवामा वायुसेवा कम्पनीहरूले लिएको ‘विन्टर सेड्युल’ अनुसार उडान सम्पन्न गरेका छन् ।

 

१९ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबारदेखि उडान संख्या बढेको छ । यही मेसोमा भैरहवाबाट भने वायुसेवा कम्पनीहरूले उडान झिकेका छन् । भैरहवामा वायुसेवा कम्पनीहरूले लिएको ‘विन्टर सेड्युल’ अनुसार उडान सम्पन्न गरेका छन् । ‘समर सेड्युल’ मा आफ्नो उडान राखेका छैनन् । जसले गर्दा पुनः गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुनसान हुने अवस्था आएको छ ।

अब नेपाल एयरलाइन्सले मलेसियाका लागि गर्ने कनेक्टिङ फ्लाइट बाहेक तत्कालका लागि कुनै पनि वायुसेवा कम्पनीको उडान छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणले एक समय ‘फोर्सफुल्ली’ वायुसेवा कम्पनीलाई भैरहवा जान बाध्य बनाएको थियो । भैरहवामा यात्रु पाउन सुरु पनि भएको थियो । तर, कम्पनीहरूले यो विमानस्थलको उडान घाटामा रहेको भन्दै निरन्तरता दिन नसकिने जानकारी प्राधिकरणलाई गराएका छन् । ‘भैरहवा र पोखरा विमानस्थल निरन्तर सञ्चालन गर्न पूरै क्षमतामा हामीले प्रयास गरेका हौं, तर वायुसेवा कम्पनीको गुनासो लोड पुगेन भन्ने नै छ, एक निश्चित अवधिसम्म हामीले बाध्यकारी पनि बनायौं,’ प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल भन्छन्, ‘तर, निरन्तर घाटामा उडाइराख भन्ने नैतिक धरातल प्राधिकरणसँग पनि छैन ।’

नयाँ विमानस्थल निन्तर चल्ने वातावरण बनाउन त्रिभुवन विमानस्थलमा जति निकाय सक्रिय छन्, ती सबैको सामूहिक प्रयास भैरहवा र पोखरामा समेत आवश्यक रहेको भन्दै अहिले त्यसो हुन नसकेको गुनासो प्राधिकरणको छ । भैरहवामा यात्रु बढ्दै थिए, तर झिकिए उडान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो केही महिनायता पर्याप्त उडान भएका थिए । सरकार, नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएका छुट सुविधाका कारण राज्यले खासै केही प्राप्ति गरेन । तर, यात्रु संख्या समेत उल्लेख्य बढेको पाइएको छ । यो अवस्थामा एयरलाइन्सले धमाधम उडान झिकेसँगै विमानस्थल प्रशासन भने अन्योलमा छ । ‘जनवरीको तुलनामा फेब्रुअरी र फेब्रुअरीको तुलनामा मार्चमा यात्रु संख्या बढेको छ,’ विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारी भन्छन्, ‘यात्रु संख्या पनि उत्साहजनक छ, यस्तो अवस्थामा धमाधम एयरलाइन्सले उडान झिकेका छन् ।’

 

गौतमबुद्ध विमानस्थल व्यवस्थापनका अनुसार भैरहवामा मार्च २०२५ मा मात्र ७ हजार ३४ अन्तर्राष्ट्रिय यात्रु उडान–अवतरण गरेका छन् । यसमध्ये सबैभन्दा धेरै जजिराले यात्रु बोकेको छ । यस एयरलाइन्स मार्फत ३ हजार ६ सय ७ यात्रु उडान/अवतरण गरेका छन् । त्यस्तै फ्लाई दुबई मार्फत २ हजार ३ सय २३ यात्रुले सेवा लिएका छन् । नेपाल एयरलाइन्स मार्फत २ हजार ४ सय ७४ यात्रुले ट्रान्जिट सुविधा लिएका छन् । ‘जजिराले हरेक उडानमा औसत १ सय ४० यात्रु बोकिरहेको थियो,’ महाप्रबन्धक तिवारी भन्छन्, ‘एयर थाईले औसत १ सय ३० यात्रु लिएर उडेको थियो, भैरहवाका लागि यो उत्साहजनक तथ्यांक हो ।’ सरकारले गौतमबुद्ध विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई आकर्षक छुट सुविधा दिएको छ । वायुसेवा कम्पनीले यहाँ काठमाडौंको तुलनामा सस्तो हवाई इन्धन प्राप्त गर्छन् । पार्किङ, ल्यान्डिङदेखि विभिन्न शुल्क छुट गरिएको छ । नेपाल एयरलाइन्सले ग्राउन्ड ह्यान्डलिङ सेवामा भारी छुट दिएको छ । यद्यपि, वैदेशिक रोजगारीमा जाने युवाको आवश्यक तयारीका लागि काठमाडौं जानैपर्ने बाध्यता भने हट्न सकेको छैन । श्रम स्वीकृतिदेखि मेडिकलसम्मका लागि काठमाडौं नै जानुपर्ने बाध्यता अझै छ ।

यसले वायुसेवा कम्पनीलाई निरन्तर सेवाका लागि अझै आश्वस्त पार्न नसकेको अनुमान महाप्रबन्धक तिवारीको छ । ‘विमानस्थलमा जति निरन्तर उडान हुन सक्यो, यात्रुको विश्वसनीयता त्यति बढ्ने हो,’ उनी भन्छन्, ‘हामी निन्तर उडानका लागि प्रयास गरिरहेका छौं ।’ त्यसो त प्राधिकरणले अब वायुसेवा कम्पनीलाई काठमाडौंमा स्लट दिन्न भनेर अर्घेल्याइँ गर्ने अवस्था पनि छैन । किनकि, प्राधिकरणको आम्दानी समेत यी वायुसेवा कम्पनीकै उडानमा अधिक निर्भर छ । भैरहवा र पोखरा नचल्दा ती विमानस्थल चलाउन लिएको ऋण समेत काठमाडौंले कमाएर तिर्नुपर्ने बाध्यतामा प्राधिकरण छ । २३ कात्तिकदेखि विमानस्थलभित्र भौतिक संरचना निर्माणको काम थालिएपछि त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द गरिएको थियो । मंगलबार उडान समय लम्बिएसँगै विगतमा कटौती भएका सबै उडान अब सामान्य अवस्थामा फकिर्ने छन् । यसले हवाई भाडासमेत घट्ने अपेक्षा गरिएको छ । सोहीकारण प्राधिकरणले अब वायुसेवा कम्पनीलाई काठमाडौं छाडेर अन्त जाऊ भन्ने बहाना समेत सकिएको हो ।

यसको समाधानका लागि राष्ट्रिय ध्वजावाहक बलियो बनाएर जानुको विकल्प नरहेको प्राधिकरणका अधिकारीहरू बताउँछन् । ‘कुनै पनि गन्तव्यमा एयरलाइन्स सस्टेन हुन ७० प्रतिशत लोड चाहिन्छ,’ प्राधिकरणका अर्का एक उच्च अधिकारी प्रश्न गर्छन्, ‘त्यो निरन्तर दिन नसक्ने हो भने निजी कम्पनीले निरन्तर घाटामा किन जहाज उडाउँछ ?’ भैरहवा र पोखरामा निरन्तर उडान हुन सोही अनुसार वातावरण राज्यका सबै निकाय र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्र सम्भव हुने उनको भनाइ छ । उता, पोखरामा भने लामो समयपछि झिनो आश पलाउने गरी हिमालय एयरलाइन्सले नियमित उडान थालेको छ । हिमालयले तिब्बतको ल्हासाबाट पोखरामा नियमित उडान थालेको हो ।पोखरामा नियमित उडान ल्याउन पोखराका पर्यटन व्यवसायीको पहल विशेष छ । यसअघि पोखरेली व्यवसायीले निरन्तर चार्टर उडानका लागि यात्रु व्यवस्थापन गरेका थिए । यसले नियमित उडान समेत निरन्तर हुने विश्वास सरोकारवालाको छ । भैरहवामा भने यसरी अपनत्व लिएर उडान निरन्तरता दिने पक्षको अभाव देखिएको छ । जसले गर्दा पर्याप्त यात्रु पाउने अवस्था हुँदाहुँदै भैरहवा पुनः सुनसान हुन थालेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साफ यू-२० महिला च्याम्पियनसिप : नेपालले भुटानसँग खेल्दै
साफ यू-२० महिला च्याम्पियनसिप : नेपालले भुटानसँग खेल्दै
‘राजदरबार हत्याकाण्ड’ को २२ वर्ष पूरा, घटना अझै रहस्यमय
‘राजदरबार हत्याकाण्ड’ को २२ वर्ष पूरा, घटना अझै रहस्यमय
गृहमन्त्रालय शिक्षामा र शिक्षा मन्त्रालय केशरमहलमा सारिने
गृहमन्त्रालय शिक्षामा र शिक्षा मन्त्रालय केशरमहलमा सारिने
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
महावीरको मार्गदर्शन परिपालन गरेमा राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छ : राष्ट्रपति पौडेल
महावीरको मार्गदर्शन परिपालन गरेमा राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छ : राष्ट्रपति पौडेल
घुसकाण्डमा जोडिएका पूर्वमन्त्री गुप्तालाई अख्तियारले बोलायो
घुसकाण्डमा जोडिएका पूर्वमन्त्री गुप्तालाई अख्तियारले बोलायो
निजामती कर्मचारीले सेवाग्राहीलाई केन्द्रमा राखेर सरल र परिणाममुखी सेवा दिनुपर्छ: मन्त्री सिंह
निजामती कर्मचारीले सेवाग्राहीलाई केन्द्रमा राखेर सरल र परिणाममुखी सेवा दिनुपर्छ: मन्त्री सिंह
बीवाईडी बन्यो १ करोड ईभी उत्पादन गर्ने विश्वकै पहिलो ब्रान्ड
बीवाईडी बन्यो १ करोड ईभी उत्पादन गर्ने विश्वकै पहिलो ब्रान्ड
पथलैया-निजगढ सडकमा जंगली हात्तीको आतंक, एकको मृ*त्यु
पथलैया-निजगढ सडकमा जंगली हात्तीको आतंक, एकको मृ*त्यु
एमाले संसदीय दलको बैठक जारी
एमाले संसदीय दलको बैठक जारी