युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र ६, २०८१
|
|
५४ पटक हेरिएको
Shares
युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम

सारांश

  • स्थानीय बेरोजगार युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले जिल्लाको सन्धिखर्क नगरपालिकामा सीपमूलक तालिम सुरु भएको छ ।
  • प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कार्यस्थलमा आधारित सीप, क्षमता विकास र जीवन उपयोगीसम्बन्धी ५० दिनसम्म ‘प्लम्बिङ’ तालिम सुरु भएको हो ।
  • आज यहाँ आयोजित एक समारोहका बीच सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले तालिमको उद्घाटन गर्नुभयो ।

६ चैत, अर्घाखाँची ।

स्थानीय बेरोजगार युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले जिल्लाको सन्धिखर्क नगरपालिकामा सीपमूलक तालिम सुरु भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कार्यस्थलमा आधारित सीप, क्षमता विकास र जीवन उपयोगीसम्बन्धी ५० दिनसम्म ‘प्लम्बिङ’ तालिम सुरु भएको हो । आज यहाँ आयोजित एक समारोहका बीच सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले तालिमको उद्घाटन गर्नुभयो । तालिममा १२ वटा वडाका ४० जना सूचीकृत बेरोजगारमध्ये अधिकांश महिला रहेका उहाँले बताउनुभयो ।

बेरोजगारलाई स्वरोजगार र उद्यमी बनाउने, युवालाई रोजगारीका अवसर सृजना गरी वैदेशिक रोजगारीमा जान रोक्नेलगायत बजारको माग अनुसार दक्ष जनशक्ति तयार पार्न यो तालिम आयोजना गरिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । विदेशपलायन भइरहेका युवायुवतीलाई स्वदेशमा रोजगारीका अवसर सृजना गर्न सकियोस् भनेर यो तालिम आयोजना गरिएको उहाँको भनाइ छ ।

बेरोजगारलाई उद्यमशीलतातर्फ उन्मुख गराउन, स्वरोजगार बनाउन र विदेश हुने पलायनदर रोक्न सङ्घीय र प्रदेश सरकार तथा सबै पालिकाले यस्ता सीप तथा रोजगारमूलक तालिम आयोजना गर्न जरुरी रहेको नगरका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताउनुभयो । कार्यक्रममा सन्धिखर्क–१ का वडाध्यक्ष माधव श्रेष्ठ, वडा नं ९ का वडाध्यक्ष पदमबहादुर भुसालसहित स्थानीय तहका कर्मचारी तथा प्रतिनिधि, तालिममा सहभागी हुनेलगायतको उपस्थिति थियो । (रासस)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ