प्रधानमन्त्रीको आश्वासन : चीन भ्रमणमा पोखरा विमानस्थलको कुरा राख्छु
सारांश
- चीन भ्रमणको तयारी गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा विमानस्थल सञ्चालनको विषयलाई पनि एजेण्डा बनाउने बताएका छन् ।
- गण्डकी प्रदेशका पर्यटनमन्त्री मित्रलाल बस्याल नेतृत्वको टोलीसँगको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
- उद्योगी र पर्यटन व्यवसायीहरुसहित भेटेका गण्डकीका पर्यटनमन्त्री बस्यालले पोखराबाट उडान सुरु भएको २ वर्षसम्म पनि पोखरा विमानस्थल अन्तर्राष्ट्रिय चार्टर्ड उडानमा मात्र सीमित भएको भन्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए ।
५ मंसिर, पोखरा । चीन भ्रमणको तयारी गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा विमानस्थल सञ्चालनको विषयलाई पनि एजेण्डा बनाउने बताएका छन् । गण्डकी प्रदेशका पर्यटनमन्त्री मित्रलाल बस्याल नेतृत्वको टोलीसँगको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

उद्योगी र पर्यटन व्यवसायीहरुसहित भेटेका गण्डकीका पर्यटनमन्त्री बस्यालले पोखराबाट उडान सुरु भएको २ वर्षसम्म पनि पोखरा विमानस्थल अन्तर्राष्ट्रिय चार्टर्ड उडानमा मात्र सीमित भएको भन्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए । संघीय पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डे, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित मंगलबार प्रधानमन्त्रीलाई भेटेको गण्डकीका पर्यटनमन्त्री नेतृत्वको टोलीले अन्तर्राष्ट्रिय उडान पनि नहुने र पोखरा जोड्ने प्रमुख राजमार्गको हालत पनि खराब हुँदा पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको बताएका थिए ।

सो भेटमा पोखराका पर्यटनसँग सम्बन्धित संस्थाहरुको छाता संगठन पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षणपत्र बुझाएका थिए । ‘यहाँ नै प्रधानमन्त्री भएको समयमा शिलान्यास भएर निर्माण सुरु भएको विमानस्थलको उद्घाटन भएको पनि करिब दुई वर्ष हुन लाग्यो, आन्तरिक उडानमा उल्लेख्य प्रगति भए पनि नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन सकेको छैन,’ निजी क्षेत्रको तर्फबाट ज्ञापनपत्र बुझाउँदै पहारीले भने, ‘अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सबै पूर्वाधार पूरा भएर पनि उडान हुन नसक्नुको कारण खोजी गर्नुपर्ने भएको छ ।’






प्रतिक्रिया