ढुक्क हुनुस् २०८३ चैत महिनामा फास्ट ट्रयाकमा गाडी गुड्छ : रक्षामन्त्रीको दाबी
९ असार, काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले काठमाडौं–तराईं फास्ट ट्रयाकमा २०८३ चैतभित्रै गाडी गुड्ने दाबी गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बजेटमा रक्षामन्त्रालयको बजेटमा माथि आएका सुझावमा जवाफ दिँदै उप्रेतीले २०८३ चैतभित्र फास्ट ट्रयाकमा गाडी गुड्ने दाबी गरेका हुन् । ‘नेपाल सरकारबाट कार्यदिशा अनुसार २०८३ चैतभित्रै सम्पन्न गर्ने कार्ययोजना अनुसार तोकिएको लागत र गुणस्तरमा २०८३ चैतभित्रै त्यहाँ गाडी गुड्ने प्रतिवद्धता जनाउन चाहन्छु,’ उनले दाबी गर्दै भने । तर विवाद सिर्जना गरेर यत्ति ठूलो योजनालाई अलपत्र पार्न नहुने बताएका हुन् ।
‘यत्ति महत्वपूर्ण योजनामा खोकना प्रस्थान विन्दुमा विवाद गर्ने भएको छ । कैयौं व्यक्तिले खोकनामा विवाद सिर्जना गर्ने तर फर्सीडोलमा जग्गा किन्ने काम भएको छ । यता विवाद गरेर उता जग्गा किन्ने देखिएको छ,’ उनले भने, ‘सडकमा राज्यको यत्रो लगानी भइसक्यो । ब्याज लाग्छ । अब फर्किन सकिँदैन । राज्यको लगानी भएको छ । सीमित स्वार्थमा यसलाई डुबाउन हुँदैन ।’
जहाँबाट प्रस्थानविन्दु मानिएको हो त्यही हुनुपर्ने उनले बताए । ‘स्टमेट जहाँबाट भएको हो त्यहीबाट हुनुपर्छ । यसको लागि सबैले सहयोग गर्नुपर्छ । यो व्यापार गर्ने ठाउँ होइन’ उनले भने । आफूले दिनभरको प्रगतिको रिपोर्टिङ बुझिरहेको पनि उनले बताए ।
Post Comment