संसदीय समिति बनाउन प्रधानमन्त्री तयार, रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको शर्त
५ जेठ, काठमाडौं । सहकारी ठगीमा संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार भएका छन् ।
शनिबार बिहान बालुवाटारमा भएको छलफलमा संसदीय समिति बनाएर वर्तमान राजनीतिक गतिरोधलाई निकास दिन प्रधानमन्त्रीले आफू तयार रहेको बताएका नेपाली कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । ‘छानबिन समिति बनाउन प्रधानमन्त्री तयार हुनुभएको छ । हामीले यसलाई सकारात्मक रुपमा लिएका छौं । अब साँझसम्म केही होला’, लेखक लोकान्तरसँग भने, ‘हामी आन्तरिक छलफल पनि गर्छौं, तर छानबिन समितिमा रवि लामिछानेको नाम उल्लेख गर्ने तहसम्म कुरा अघि बढिसकेको छैन ।’ बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवासहित, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र लेखक सहभागी थिए । कांग्रेसको अडानबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले उनीहरूलाई बालुवाटार बोलाएका थिए।
यसअघि हिजो तय भएको छलफल अन्तिम समयमा आएर स्थगित भएको थियो । सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । माग पूरा नभएसम्म संसद् चल्न नदिने कांग्रेसको अडान छ । सोही अनुसार कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ । कांग्रेसकै अवरोधका कारण बिहीबारको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको थिए । शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो ।
Post Comment