सुत्केरी महिलाको मृत्यू भएपछि अस्पतालमा तोडफोड
जनकपुरधाम । मौसम झा
धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा एक सुत्केरी महिलाको मृत्यू भएपछि तोडफोड गरिएको छ ।
लक्ष्मिनिया गाउँपालिका ५ बनिनियाका अमर यादबको २८ वर्षीया श्रीमती अनिता यादबको आज बिहान ९ बजे मृत्यु भएको हो । सुत्केरी भएको १० घण्टा नबित्दै उनको मृत्यू भएपछि चिकित्सकले लापरबाही गरेको भन्दै आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् ।
व्यथा सुरु भएपछि शनिवार मध्यरातमा अनितालाई अस्पताल लगिएको थियो । आइतवार करिब ११ बजे शल्यक्रिया मार्फत् सुत्केरी गराइयो । बच्चा सकुशल छन् ।तर आमाको मृत्यु भएपछि उनका आफन्त आक्रोशित हुँदै तोडफोडमा उत्रेका थिए ।
मृतकका आफन्तले शल्यक्रिया गर्ने चिकित्सकलाई कारबाही गर्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । उनीहरु तोडफोडमा उत्रेपछि केहिबेर अबस्था तनावग्रस्त बनेको थियो ।
घटनापछि अस्पतालमा प्रहरी र जनप्रतिनिधि पुगेर छलफलको वातावरण बनाएपछि अबस्था सामान्य बनेको छ ।
Post Comment