जैविक खेती प्रवर्द्धनका लागि अवलोकन भ्रमण
सारांश
- टिका देवी श्रेष्ठ जैविक खेती प्रवर्द्धन गर्ने उद्देश्यले सर्लाहीका २३ जना महिला किसान तथा कृषि उद्यमीले चितवनका विभिन्न जैविक कृषि फार्मको अवलोकन भ्रमण गरेका छन्।
- ग्रामीण नारी उत्थान संघ र ग्राउन्डस्वेल इन्टरनेसनलको सहकार्यमा सञ्चालित जैविक कृषि परियोजनाअन्तर्गत मंसिर ६ र ७ गते दुईदिने सिकाइ तथा अवलोकन भ्रमण आयोजना गरिएको हो।
- हरिपुर, ईश्वरपुर र लालबन्दी नगरपालिकाका अगुवा किसान तथा कृषक समूहमा आबद्ध महिला किसान र उद्यमी भ्रमणमा सहभागी भएका थिए।
१० मंसिर, सर्लाही । टिका देवी श्रेष्ठ
जैविक खेती प्रवर्द्धन गर्ने उद्देश्यले सर्लाहीका २३ जना महिला किसान तथा कृषि उद्यमीले चितवनका विभिन्न जैविक कृषि फार्मको अवलोकन भ्रमण गरेका छन्।
ग्रामीण नारी उत्थान संघ र ग्राउन्डस्वेल इन्टरनेसनलको सहकार्यमा सञ्चालित जैविक कृषि परियोजनाअन्तर्गत मंसिर ६ र ७ गते दुईदिने सिकाइ तथा अवलोकन भ्रमण आयोजना गरिएको हो।
हरिपुर, ईश्वरपुर र लालबन्दी नगरपालिकाका अगुवा किसान तथा कृषक समूहमा आबद्ध महिला किसान र उद्यमी भ्रमणमा सहभागी भएका थिए।

भ्रमणका क्रममा चितवनको भरतपुर महानगरपालिका क्षेत्रका शुक्रनगरस्थित प्रभात प्राङ्गारिक कृषि उत्पादन केन्द्र, श्रीनगरस्थित प्राङ्गारिक कृषि उत्पादन केन्द्र र केशरबाघस्थित मौसम कृषि तथा पशुपन्छी अर्गानिक फार्मको अवलोकन गरिएको थियो।
अवलोकनका क्रममा किसानहरूले प्राङ्गारिक मल, जीवामृत र गोठेमल तयार गर्ने तथा व्यवस्थापन गर्ने तरिकाबारे जानकारी लिएका थिए। स्थानीयस्तरमा उपलब्ध सामग्री प्रयोग गरेर जीवामृत बनाउने विधिसमेत सिकाइएको थियो।
जीवामृत तयार गर्न गाई वा भैँसीको पिसाब, ताजा गोबर, बेसन, गुड र विषादीरहित जङ्गलको माटो मिसाएर घोल तयार गर्ने विधिबारे जानकारी दिइएको थियो। उक्त घोललाई १० देखि १५ दिनसम्म छायाँमा राखेर दैनिक चलाउने र तयार भएपछि पानीमा मिसाएर बालीनालीमा प्रयोग गर्न सकिने विधि सिकाइएको थियो।

त्यस्तै, बालीनालीमा लाग्ने रोग तथा कीरा नियन्त्रणका लागि निमास्त्र, ढुसीनाशक जैविक घोल र जराको वृद्धि विकासमा सहयोग गर्ने जैविक ह्युमिक एसिड तयार गर्ने तथा प्रयोग गर्ने अभ्याससमेत गराइएको थियो।
चितवनका अग्रणी जैविक किसान छविलाल न्यौपाने, चन्द्रप्रसाद अधिकारी र मोहनसिंह गुरुङले सञ्चालन गरेका कृषि फार्मको अवलोकनबाट सहभागी किसानले जैविक खेतीको व्यावहारिक पक्षबारे अनुभव साटासाट गर्ने अवसर पाएका थिए।
चितवनका किसानहरूले २ देखि १६ बिघासम्मको क्षेत्रफलमा गर्दै आएको जैविक खेतीको अवलोकनले सर्लाहीका किसानलाई व्यावसायिक रूपमा जैविक खेती गर्न प्रेरित गरेको आयोजकले जनाएको छ। जैविक खेतीलाई आर्थिक रूपमा दिगो बनाउन उत्पादनको मूल्य अभिवृद्धि, जैविक प्रमाणीकरण र बजारीकरणमा समेत ध्यान दिनुपर्ने विषय भ्रमणको महत्त्वपूर्ण सिकाइ बनेको छ।
भ्रमण कार्यक्रमका व्यवस्थापक तथा परियोजना संयोजक मुकुन्दराज जोशीले भ्रमणबाट प्राप्त सिकाइलाई व्यवहारमा उतार्न आगामी दिनमा किसान केन्द्रित बजारीकरणका कार्यक्रमलाई प्राथमिकता दिइने बताए। ग्रामीण नारी उत्थान संघले किसान, स्थानीय तह र साझेदार संस्थासँगको सहकार्यमा यस्ता कार्यक्रम अघि बढाउने उनले जानकारी दिए।
प्रतिक्रिया