चार महिनामै भित्रियो सवा अर्बको लसुन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १०, २०८३
|
|
४३ पटक हेरिएको
Shares
चार महिनामै भित्रियो सवा अर्बको लसुन

सारांश

  • चालु आर्थिक वर्ष पहिलो चार महिनामा नेपालले सवा १ अर्ब हाराहारी मूल्यको लसुन आयात गरेको छ ।
  • भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आव २०८३/८४ साउनदेखि कात्तिक मसान्तसम्म कुल ७ हजार ४ सय ३८ टन (७४ लाख ३८ हजार २ सय ९२ किलो) लसुन आयात भएको छ ।
  • उक्त परिमाणको लसुन भित्र्याउन १ अर्ब १६ करोड ९२ लाख ८१ हजार रुपैयाँ बाहिरिएको छ भने लसुन आयातबाट राज्यले २८ करोड २७ लाख ४० हजार रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ ।

 

९ मंसिर, काठमाडौं ।

चालु आर्थिक वर्ष पहिलो चार महिनामा नेपालले सवा १ अर्ब हाराहारी मूल्यको लसुन आयात गरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आव २०८३/८४ साउनदेखि कात्तिक मसान्तसम्म कुल ७ हजार ४ सय ३८ टन (७४ लाख ३८ हजार २ सय ९२ किलो) लसुन आयात भएको छ ।

उक्त परिमाणको लसुन भित्र्याउन १ अर्ब १६ करोड ९२ लाख ८१ हजार रुपैयाँ बाहिरिएको छ भने लसुन आयातबाट राज्यले २८ करोड २७ लाख ४० हजार रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ ।

गत आव २०८२/८३ सोही अवधिको तुलनामा यस वर्ष लसुन आयात निकै बढेको देखिएको छ । गत आव साउन–कात्तिक अवधिमा कुल ५ हजार ४ सय ७ टन (५४ लाख ७ हजार ५१ किलो) लसुन आयात भएको थियो ।

त्यतिबेला ७४ करोड १७ लाख ७ हजार रुपैयाँ बराबरको लसुन भित्रिँदा सरकारले १८ करोड ४ लाख ५१ हजार रुपैयाँ राजस्व प्राप्त गरेको थियो ।

गत वर्षको तुलनामा यस वर्ष चार महिनामा लसुन आयात परिमाण २ हजार ३१ टन (२० लाख ३१ हजार २ सय ४१ किलो) अर्थात् ३७.५७ प्रतिशत वृद्धि भएको छ ।

त्यस्तै आयात मूल्य ४२ करोड ७५ लाख ७४ हजार अर्थात् ५७.६५ प्रतिशत र भन्सार राजस्व १० करोड २२ लाख ८९ हजार अर्थात् ५६.६९ प्रतिशत उकालो लागेको छ ।

आयातित लसुनमा ताजा तथा चिस्याइएको लसुनको हिस्सा सबैभन्दा ठूलो छ । चालु आव चार महिनामा ६ हजार ९ सय टन (६९ लाख ४ सय ९० किलो) ताजा लसुन ९९ करोड ७८ लाख ५३ हजार रुपैयाँमा आयात भएको छ । जसबाट २४ करोड २७ लाख ८० हजार रुपैयाँ राजस्व उठेको छ ।

गत वर्ष सोही अवधिमा ४ हजार ८ सय ७० टन (४८ लाख ७० हजार २ सय ४१ किलो) ताजा लसुन ६४ करोड ७१ लाख ४ हजार रुपैयाँमा भित्रिएको थियो र १५ करोड ८४ लाख २३ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

गत वर्षको तुलनामा ताजा लसुन आयात परिमाण ४१.६९ प्रतिशत र मूल्य ५४.२० प्रतिशत बढेको हो ।

ताजाबाहेक सुकेको लसुन आयात परिमाण सामान्य रहे पनि मूल्य भने अस्वाभाविक रूपमा बढेको देखिएको छ । चालु आव साउन–कात्तिकमा नकुटिएको र नपिँधिएको सुकेको लसुन ४ सय ७ टन (४ लाख ७ हजार ५ सय ३७ किलो) तथा कुटिएको वा पिँधिएको सुकेको लसुन १ सय ३० टन (१ लाख ३० हजार २ सय ६५ किलो) गरी कुल ५ सय ३७ टन (५ लाख ३७ हजार ८ सय २ किलो) आयात भएको छ ।

यसका लागि कुल १७ करोड १४ लाख २८ हजार रुपैयाँ (नकुटिएको र नपिँधिएको १३ करोड ५२ लाख ७१ हजार र कुटिएको वा पिँधिएको ३ करोड ६१ लाख ५७ हजार रुपैयाँ) खर्च भएको छ भने ३ करोड ९९ लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

गत आव सोही अवधिमा कुल ५ सय ३६ टन (नकुटिएको र नपिँधिएको ४ सय ८ टन र कुटिएको वा पिँधिएको १ सय २८ टन) सुकेको लसुन ९ करोड ४६ लाख ३ हजार रुपैयाँमा आयात भएको थियो ।

देशगत आधारमा विश्लेषण गर्दा नेपाली बजारमा आयात हुने लसुनमा चीनको एकाधिकार अझै बलियो बन्दै गएको देखिन्छ ।

चालु आव चार महिनामा नेपालमा चीन र भारत गरी जम्मा दुई देशबाट मात्र लसुन भित्रिएको छ । कुल आयातित परिमाणको ९२.७५ प्रतिशत हिस्सा ओगट्दै चीनबाट ६ हजार ८ सय ९८ टन (६८ लाख ९८ हजार ९ सय किलो) ताजा लसुन ९९ करोड ७७ लाख २२ हजार रुपैयाँमा आयात भएको छ । जसबाट २४ करोड २७ लाख ४९ हजार राजस्व प्राप्त भएको छ ।

गत आव सोही अवधिमा चीनबाट ४ हजार ८ सय ५२ टन (४८ लाख ५२ हजार ५ सय ५४ किलो) लसुन ६४ करोड ५७ लाख ५७ हजार रुपैयाँमा भित्रिएको थियो ।

गत वर्षको तुलनामा चीनबाट हुने लसुन आयात परिमाण ४२.१७ प्रतिशत र मूल्य ५४.५० प्रतिशत बढेको छ ।

अर्को छिमेकी भारतबाट भने चालु आव साउन–कात्तिकमा ताजा र सुकेको गरी कुल ५ सय ३९ टन (५ लाख ३९ हजार ३ सय ९२ किलो) लसुन १७ करोड १५ लाख ५९ हजार रुपैयाँमा भित्रिएको छ ।

भारतबाट जम्मा १.५ टन (१ हजार ५ सय ९० किलो) ताजा लसुन १ लाख ३१ हजार रुपैयाँमा भित्रिँदा शतप्रतिशत सुकेको लसुन भारतबाटै आयात भएको छ ।

भारतबाट भएको कुल लसुन आयातबाट ३ करोड ९९ लाख ९१ हजार रुपैयाँ राजस्व उठेको छ । गत आव पहिलो चार महिनामा भारतबाट १७.६ टन ताजासहित कुल ५ सय ५४ टन (५ लाख ५४ हजार ४ सय ९५ किलो) लसुन ९ करोड ५९ लाख ४८ हजार रुपैयाँमा आयात भएको थियो ।

गत वर्षको तुलनामा भारतबाट आयात हुने लसुन परिमाण २.७ प्रतिशत घटे पनि सुकेको लसुनको मूल्य उच्च भएकै कारण भारततर्फको आयात रकम ७८.८० प्रतिशत बढेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?