सर्लाहीमा किराना पसलबाट १० लाख चोरि गर्ने दुई जना पक्राउ
सारांश
- जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार लालबन्दी नगरपालिका–७ स्थित लालबन्दी बजारबाट मिर्चैया जाने बाटोमा रहेको कैलाश सप्लायर्स किराना पसलमा चोरी भएको हो।
- पसल सञ्चालक उमाशंकर साहका अनुसार अज्ञात व्यक्तिहरूले पसलको पछाडिको भेन्टिलेसनको रड बङ्ग्याएर भित्र प्रवेश गरी क्यास काउन्टरमा रहेको १० लाख रुपैयाँ नगद र करिब ३ हजार ६ सय रुपैयाँ पर्ने तीन बण्डल चुरोट चोरी गरेका थिए।
- चोरीपछि फरार भएका व्यक्तिको खोजी गर्ने क्रममा प्रहरीले पसलमा जडान गरिएको सीसीटीभी फुटेजलगायत विभिन्न प्राविधिक माध्यमबाट अनुसन्धान अघि बढाएको थियो।
सर्लाही —
लालबन्दीमा किराना पसलको भेन्टिलेसन फुटाएर नगद तथा चुरोट चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार लालबन्दी नगरपालिका–७ स्थित लालबन्दी बजारबाट मिर्चैया जाने बाटोमा रहेको कैलाश सप्लायर्स किराना पसलमा चोरी भएको हो। पसल सञ्चालक उमाशंकर साहका अनुसार अज्ञात व्यक्तिहरूले पसलको पछाडिको भेन्टिलेसनको रड बङ्ग्याएर भित्र प्रवेश गरी क्यास काउन्टरमा रहेको १० लाख रुपैयाँ नगद र करिब ३ हजार ६ सय रुपैयाँ पर्ने तीन बण्डल चुरोट चोरी गरेका थिए।
चोरीपछि फरार भएका व्यक्तिको खोजी गर्ने क्रममा प्रहरीले पसलमा जडान गरिएको सीसीटीभी फुटेजलगायत विभिन्न प्राविधिक माध्यमबाट अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा प्रहरीले लालबन्दी नगरपालिका–१४ का ३७ वर्षीय हिरालाल ब्लोनलाई पक्राउ गरेको जनाएको छ। काठमाडौं महानगरपालिका–२३ स्थित स्थानबाट पक्राउ परेका ब्लोनको साथबाट ५० हजार रुपैयाँ नगद, विभिन्न किसिमका घरेलु हातहतियार तथा घटनामा प्रयोग गरिएको टी–सर्ट बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ब्लोनसँग सोधपुछ गर्दा चोरीमा सर्लाहीकै लालबन्दी नगरपालिका–१४ लखनदेही टोलका ४४ वर्षीय चन्द्र वाइबा समेत संलग्न रहेको खुलेको थियो। वाइबालाई खोजतलास गर्ने क्रममा असोज २० गते लालबन्दी नगरपालिका–११ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रतिक्रिया