प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री- परिणाममुखी भ्रमण गर्ने भन्ने छ
सारांश
- परराष्ट्रमन्त्री शिशिर खनालले उपयुक्त समयमा प्रधानमन्त्रीको परिणाममुखी भारत भ्रमण हुने बताएका छन्।
- यद्यपि, हालसम्म भ्रमणको औपचारिक मिति भने तय भइनसकेको उनले स्पष्ट पारेका छन्।
- संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भई स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री खनालले नयाँ सरकार गठन भएलगत्तै भारतबाट प्रधानमन्त्रीलाई औपचारिक निम्तो आइसकेको स्मरण गराए।
१४ असोज, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले उपयुक्त समयमा प्रधानमन्त्रीको परिणाममुखी भारत भ्रमण हुने बताएका छन्। यद्यपि, हालसम्म भ्रमणको औपचारिक मिति भने तय भइनसकेको उनले स्पष्ट पारेका छन्।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भई स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री खनालले नयाँ सरकार गठन भएलगत्तै भारतबाट प्रधानमन्त्रीलाई औपचारिक निम्तो आइसकेको स्मरण गराए।
‘हामीले सुरुदेखि नै भन्दै आएका छौं, सरकार बन्नासाथ सम्माननीय प्रधानमन्त्रीज्यूलाई निम्तो आएको थियो र त्यसलाई हामीले सकारात्मक रूपमा लिएका थियौं,’ मन्त्री खनालले भने, ‘उपयुक्त अवसर पारेर एउटा परिणाममुखी भ्रमण गर्ने हाम्रो तयारी छ।’
भ्रमणको मितिबारे सोधिएको प्रश्नमा उनले थपे, ‘आजको अवस्थासम्म कहिले हुन्छ भन्ने यकिन छैन। तर भ्रमण सकेसम्म फलदायी र परिणाममुखी होस् भन्नेमा दुवै पक्षको अपेक्षा र चाहना छ।’
प्रतिक्रिया