पहिचान नखुलेका १९९ शवको व्यवस्थापन
सारांश
- जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका २७२ शवमध्ये १९९ शव भरतपुर महानगरपालिका–१ स्थित देवघाटको जङ्गल क्षेत्रमा आइतबार रातिसम्म व्यवस्थापन गरिएको हो।
- १२ शवको भने सनाखत भएको छ।
- प्रहरीका अनुसार शवको डिएनए नमूना सुरक्षित राखेर व्यवस्थापन गरिएको छ।
चितवन — रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा बगेर आएका र सनाखत हुन नसकेका १९९ शवको व्यवस्थापन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका २७२ शवमध्ये १९९ शव भरतपुर महानगरपालिका–१ स्थित देवघाटको जङ्गल क्षेत्रमा आइतबार रातिसम्म व्यवस्थापन गरिएको हो। १२ शवको भने सनाखत भएको छ।
प्रहरीका अनुसार शवको डिएनए नमूना सुरक्षित राखेर व्यवस्थापन गरिएको छ। सनाखत भएका शव परीक्षणपछि परिवारजनले बुझेर लगेका छन्। बेपत्ता व्यक्तिका परिवारसँग भविष्यमा डिएनए मिल्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै व्यवस्थापन गरिएका शवको स्थान पहिचान गर्न सकिने गरी सङ्केत चिह्नसमेत राखिएको प्रहरीले जनाएको छ।
हालसम्म फेला परेका शवमध्ये ११० पुरुष, ६२ महिला, सात बालक, छ बालिका र ८७ वटा विभिन्न मानव अवशेष रहेका छन्।
नदी किनार क्षेत्रमा शव फेला पर्ने क्रम जारी रहेकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई संयुक्त रूपमा खोजी तथा व्यवस्थापन कार्यमा परिचालन गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया