‘हामीलाई थाहै नदिई सहमति गरियो, मान्य छैन’ : गरिमाका बुबा
सारांश
- बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याको विरोधमा वीरगञ्ज–पथलैया सडकखण्ड तेस्रो दिन पनि अवरुद्ध रहेको छ।
- गरिमाका लागि न्याय माग्दै उनका परिवार र आफन्तले सडकमै धर्ना जारी राखेपछि यातायात सञ्चालन हुन सकेको छैन।
- बिहीबार राति जिल्ला प्रशासन कार्यालयको पहलमा स्थानीय सरोकारवालासँग पाँचबुँदे सहमति भए पनि मृतक बालिकाका परिवारले उक्त सहमति अस्वीकार गरेका छन्।
५ भदौ, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याको विरोधमा वीरगञ्ज–पथलैया सडकखण्ड तेस्रो दिन पनि अवरुद्ध रहेको छ। गरिमाका लागि न्याय माग्दै उनका परिवार र आफन्तले सडकमै धर्ना जारी राखेपछि यातायात सञ्चालन हुन सकेको छैन।
बिहीबार राति जिल्ला प्रशासन कार्यालयको पहलमा स्थानीय सरोकारवालासँग पाँचबुँदे सहमति भए पनि मृतक बालिकाका परिवारले उक्त सहमति अस्वीकार गरेका छन्। परिवारको जानकारी र सहमति बिना राजनीतिक दलका प्रतिनिधिसँग मात्र सहमति गरिएको भन्दै उनीहरूले आन्दोलन नरोक्ने अडान लिएका हुन्।

मृतक बालिकाका बुबा मनोज चौधरीले आफूहरूलाई जानकारी नै नदिई गरिएको सहमति मान्य नहुने बताए। ‘हाम्रो छोरीको न्यायका लागि आन्दोलन भइरहेको छ। हामीसँग कुनै छलफल नगरी गरिएको सहमति कसरी स्वीकार गर्ने ?’ उनले भने।
उनले गृहमन्त्री सुधन गुरुङ र कानुन मन्त्री सोबिता गौतम घटनास्थलमै आएर कानुनी व्यवस्था संशोधन गर्ने प्रतिबद्धता जनाउनुपर्ने मागसमेत राखेका छन्। आफ्नी तीन वर्षीया छोरीमाथि भएको बलात्कारपछि हत्याको घटनामा संलग्न दोषीलाई कडा सजाय, आवश्यक परे मृत्युदण्डको व्यवस्था हुनुपर्ने उनको भनाइ छ।
यसअघि स्थानीयबासीले घटनामा प्रहरीको लापरबाही भएको आरोप लगाउँदै इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी दिलीप क्षेत्रीको सरुवा माग गरेका थिए। डीएसपी क्षेत्रीको सरुवा भएपछि प्रशासन र स्थानीयबीच पाँचबुँदे सहमति भएको थियो। तर मृतकका परिवारले आफूहरू सहभागी नभएको सहमतिले न्याय सुनिश्चित गर्न नसक्ने भन्दै आन्दोलनलाई निरन्तरता दिएका छन्।
परिवारले सडक नछाडेपछि वीरगञ्ज–पथलैया सडकखण्डमा सवारी आवागमन प्रभावित बनेको छ। प्रशासनले परिवारसँग पुनः संवाद गरी निकास खोज्ने प्रयास भइरहेको जनाएको छ।
प्रतिक्रिया