सर्लाहीमा घर फोडेर चोरी गरेको आरोपमा दुईजना पक्राउ
सारांश
- सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा घर फोडेर नगद तथा गहना चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
- जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार स्थानीय सुरेश तामाङको काठको दुईतले घरको माथिल्लो तलामा रहेको दराजको ताल्चा फुटाएर नगद र सुनचाँदीका गहना चोरी भएको थियो।
- घटनाबारे सूचना पाएपछि इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको टोलीले अनुसन्धान थालेको थियो।
३१ साउन, सर्लाही ।
सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा घर फोडेर नगद तथा गहना चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार स्थानीय सुरेश तामाङको काठको दुईतले घरको माथिल्लो तलामा रहेको दराजको ताल्चा फुटाएर नगद र सुनचाँदीका गहना चोरी भएको थियो। घटनाबारे सूचना पाएपछि इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको टोलीले अनुसन्धान थालेको थियो।

अनुसन्धानका क्रममा प्रहरीले नवलपुरकै २५ वर्षीय कुमार लोप्चन र ३२ वर्षीय रमेश तामाङलाई नियन्त्रणमा लिएको जनाएको छ। सोधपुछका क्रममा उनीहरूको बयानका आधारमा चोरी गरिएका अधिकांश सामान स्थानीय हरि तामाङको भत्किएको पुरानो घरमा माटोमुनी गाडेर राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले नगद ११ हजार १ सय रुपैयाँ, करिब २.५ तोलाको चाँदीको ब्रेसलेट, २ तोलाको चाँदीको सिक्री तथा ७.५ तोलाका पाँच थान चाँदीका बाला बरामद गरेको जनाएको छ। बरामद सामानको अनुमानित मूल्य ५६ हजार ४२० रुपैयाँ रहेको छ। यद्यपि पाँच आनाको सुनको एक थान मुन्द्रा र २.५ तोलाको एक थान चाँदीको बाला भने अझै फेला नपरेको प्रहरीले जनाएको छ। ती सामानको अनुमानित मूल्य १ लाख ११ हजार ७ सय ७५ रुपैयाँ रहेको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया