६ चैत्र २०८२, शुक्रबार

अमेरिकी, इजरायली दूतावास र इरानी कन्सुलेट अगाडी प्रदर्शन

५ चैत,काठमाडौं ।

२८ फेब्रुवरी २०२६ मा इजरायल र अमेरिकाले इरानमा हवाइ आक्रमण गरेपश्चात जारी अमेरिका÷इजरायल र इरानबीचको युद्ध तत्काल अन्त्य गरि शान्ति प्रवद्र्धनका लागि विशेष पहल गर्न आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले काठमाडौंस्थित अमेरिका, इजरायलका राजदुताबास र इरानको कन्सुलेट कार्यालय अगाडी एकै दिन प्रदर्शन गरेको छ ।

‘अमेरिकाः आक्रमणकारी भुमिका बन्द गर । अरु देशको सार्वभौमसत्ताको सम्मान गर । इजरायलः बर्बरता र आक्रामकता बन्द गर । शान्तिपूर्ण सहअस्तित्वको मार्ग अवलम्वन गर । इरानः आणविक महत्वाकांक्षा परित्याग गर । आफ्नै नागरिक माथि दमन र अत्याचार बन्द गर’ भन्दै काठमाडौं महाराजगन्जस्थित अमेरिकी राजदूतावास र लाजिम्पाटस्थित इजरायली राजदुतावास अगाडि विहान र दरवारमार्गस्थित इरानी कन्सुलेट कार्यालय अगाडि मध्यान्ह आधा घण्टा प्रदर्शन भएको थियो ।प्रदर्शनमा शान्तिवादीहरुले ‘युद्ध रोकः शान्ति प्रबद्र्धन गर, युद्धको बीज शासकहरूको अहंकार, हाम्रो चाहनाः हिंसारहित समाज–युद्धरहित विश्व, युद्धको खेती बन्द गर, शान्तिको सन्देश बुलन्द गर, युद्धको विस्तार मानवजातिको विनाश’ लेखिएका प्लाकार्ड बोकेका थिए ।प्रदर्शन पश्चात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाइ शान्ति समाजका तर्फबाट लेखिएको पत्र अमेरिकी राजदूतावासमा हस्तान्तरण गरिएको थियो । ‘युद्ध विस्तार हुँदै जानु विश्व शान्तिकै लागि गम्भीर खतरा भएकाले हाल जारी अमेरिका÷इजरायल र इरानबीचको युद्ध तत्काल अन्त्य हुनुपर्छ भन्ने धारणा सहित युद्ध रोकी शान्ति प्रवद्र्धनका लागि विशेष पहल गर्न मानव अधिकार तथा शान्ति समाजका तर्फबाट महामहिम राष्ट्रपतिज्यूलाई हार्दिक आग्रह गर्दछौं,’ शान्ति समाजले भनेको छ । ‘साथै, हामी र हामीजस्ता विश्वभरिका शान्तिवादीहरूको आग्रहलाई स्वीकार गरी महामहिम राष्ट्रपतिज्यूबाट शीघ्र युद्ध अन्त्यको घोषणा हुनेछ भन्नेमा हामी आशावादी छौं । यसैगरी हामी अमेरिकालाई युद्धको पक्षधर होइन, सदैव शान्तिका लागि अग्रसर भूमिकामा देख्न चाहन्छौं,’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाइ शान्ति समाजका तर्फबाट लेखिएको पत्रमा उल्लेख छ ।

प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रेनुका पौडेल, पूर्व सभापति गोविन्द खनाल, सल्लाहकार रामप्रसाद जोशीसहित दर्जनौ शान्तिवादीहरुको सहभागिता थियो । यसैगरी युद्ध तत्काल अन्त्य गरि शान्ति प्रवद्र्धनका लागि विशेष पहल गर्न आग्रहसहित मानव अधिकार तथा शान्ति समाजका जिल्ला शाखाहरुले बुटवल, सुर्खेत, भरतपुर, नेपालगन्ज, नुवाकोट, सल्यान, पाल्पा, पोखरा, बिर्तामोड, तेह्रथुम र तम्घासमा प्रदर्शन गरेका थिए ।

Post Comment

छुटाउनुभयो कि ?