३ चैत्र २०८२, मंगलवार

अब राष्ट्रिय परिचयपत्रको नम्बरबाटै स्वास्थ्य बीमा

२ चैत,काठमाडौं ।

स्वास्थ्य बीमा कार्यक्रममा डिजिटल प्रणाली विस्तार गर्ने लक्ष्यसहित स्वास्थ्य बीमा बोर्डले राष्ट्रिय परिचयपत्र प्रणालीसँग सहकार्य सुरु गरेको छ । बोर्डले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समझदारी गर्दै स्वास्थ्य बीमालाई क्रमशः राष्ट्रिय परिचयपत्र (एनआईडी) नम्बरमा आधारित बनाउने तयारी गरेको हो । राष्ट्रिय परिचयपत्रमा रहेको विवरण र नम्बरलाई स्वास्थ्य बीमा प्रणालीमा आबद्ध गर्ने गरी दुई निकायबीच समझदारी–पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरे र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्ण प्रसाद पौडेलले हस्ताक्षर गरेका छन् । स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार सहकार्यपछि स्वास्थ्य बीमाको दर्ता तथा नवीकरण प्रक्रिया क्रमशः अनलाइनमार्फत गर्ने तयारी भइरहेको बताए । मल्लका अनुसार बोर्डले चैत २५ गतेभित्र नयाँ दर्ता अनलाइनमार्फत गर्ने लक्ष्य राखेर गृहकार्य गरिरहेको छ । ‘अब स्वास्थ्य बीमाको छुट्टै कार्डको सट्टा नागरिकको राष्ट्रिय परिचयपत्र नम्बरकै आधारमा सेवा दिने प्रणालीतर्फ जाने तयारी भइरहेको छ,’ मल्लले अनलाइनखबरसँग भने ।

उनका अनुसार एनआईडी प्रणालीसँग जोडिएपछि स्वास्थ्य बीमासम्बन्धी धेरै समस्या समाधान हुने अपेक्षा गरिएको छ । अहिले देशभरिबाट संकलन भएको राष्ट्रिय परिचयपत्रको डाटाबेससँग स्वास्थ्य बीमा कार्यक्रम जोडिँदा डाटा प्रमाणीकरण सहज हुने, दोहोरो दर्ता कम हुने र कार्डको दुरुपयोग घट्ने मल्ल बताउँछन् । हाल स्वास्थ्य बीमा कार्यक्रममा करिब एक करोड नागरिक आबद्ध भइसकेका छन् । तर म्यानुअल प्रणालीका कारण कतिपय स्थानमा एउटै व्यक्तिको विवरण दोहोरिने, उमेर वा विवरण नमिल्ने तथा गलत प्रयोग हुने समस्या देखिएको मल्लले बताए । ‘एनआईडी नम्बरको आधारमा प्रणाली जोडिँदा यस्ता समस्या धेरै हदसम्म नियन्त्रण हुन्छ,’ मल्लले भने ।

उनका अनुसार डिजिटल प्रणाली विस्तार भएसँगै नागरिकले स्वयं अनलाइनमार्फत स्वास्थ्य बीमामा आबद्ध हुने वा नवीकरण गर्ने सुविधा पाउनेछन् । भविष्यमा सेवा लिँदा बायोमेट्रिक प्रमाणीकरणसमेत लागू गर्ने योजना रहेको मल्ल बताउँछन् । नयाँ व्यवस्थासँगै स्वास्थ्य बीमाको दर्ता र नवीकरण प्रक्रियामा हुने झन्झट हट्नेछ । परिचयपत्रमा भएकै विवरणका आधारमा डिजिटल प्रमाणीकरण हुने भएकाले सेवाग्राहीले अस्पताल तथा सेवा केन्द्रहरूमा छिटो सेवा पाउनेछन् ।

Post Comment

छुटाउनुभयो कि ?