अपशब्द र साम्प्रदायिक रूपमा दुर्व्यवहार गर्ने नक्कली डीएसपी पक्राउ
७ फागुन, काठमाडौं । काठमाडौंमा कार चलाइरहेका मधेसी युवालाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन।
शनिबार राति काठमाडौँ उपत्यका लाजिमपाट सडक अन्तर्गत राति १० बजे १ जना व्यक्तिले अर्को गाडीमा सवार दम्पतिलाई अबद्र व्यवहार गरेको पाइएको थियो । दुर्व्यवहारको भिडिओसहित समाचार प्रकाशन भएपछि ती व्यक्ति पक्राउ परेका हुन् । उनी धनगढी घर भई काठमाडौं बस्ने प्रवीण श्रेष्ठ हुन् । उनलाई पक्राउ गरिएको दरबारमार्ग प्रहरीले जनाएको छ । पीडित बिरगंज घर भई कुलेश्वर बस्ने अंकित गुप्ता हुन् । उनले दिएको जाहेरीको आधारमा प्रवीण श्रेष्ठ पक्राउ परेको काठमाडौं प्रहरीले जनाएको छ ।
प्रवीण श्रेष्ठले अंकित गुप्ताको नागरिकता माग्दै दुर्व्यवहार गरेका थिए । गाडी चलाउँदै गर्दा लाजिम्पाटको होटल साङ्ग्रिला अगाडी दुईबीच भेट भएको थियो । ओभरटेक गरेको भन्दै प्रवीण श्रेष्ठले अंकित गुप्तालाई वाक्यपिच्छे अपशब्द बोल्दै धम्काएका थिए । प्रवीण श्रेष्ठले आफू प्रहरीको डीएसपी भन्दै धम्क्याएका थिए । उनले भनेका थिए, ‘‘नेपाली नागरिकता छ कि छैन ? मेरो गाडी ठोक्किएको भए तैँले तिर्छस् ? आइडी हेर्छस् डीएसपीको ? लगेर थुन्दिऊँ ?’’
उनले आफूलाई डीएसपी भएको बताए पनि सर्वसाधारण भएको प्रहरीले जनाएको छ । ‘‘धनगढीका प्रविन श्रेष्ठ स्थानीय कांग्रेस नेताको छोरा रहेको खुलेको छ । उनी प्रहरी होइनन् ।’’ पक्राउ परेका प्रवीण श्रेष्ठलाई अभद्र व्यवहार कसुरका साथै मधेसी समुदायप्रति घृणा वा द्वेष फैलाएको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले धम्क्याएको भिडिओ फेसबुकलगायत सामाजिक सञ्जालमा भाइरल भएको छ ।
Post Comment