निर्वाचन हुन्न कि भन्ने शंका नगर्नू, भ्रम नछर्नू: गृहमन्त्री
१६ मंसिर, काठमाडौं ।
गृहमन्त्री ओमप्रकाश अर्यालले केही थान हतियार र फरार कैदीबन्दी बाहिरै रहेको अवस्थामा फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचन हुन्न कि भन्ने शंका र भ्रम नछर्न आग्रह गरेका छन्। गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा धनगढीमा मंगलबार सुरु भएको सुदूरपश्चिम प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै आफ्नो मन्तव्य राख्दै मन्त्री अर्यालले सो कुरा बताएका हुन्।

गृहमन्त्री अर्यालले यो सरकारको मुख्य कार्यभार घोषित मितिमै भयरहित, स्वच्छ, स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न गर्ने रहेको उल्लेख गर्दै भने, ‘कुनै पनि बहाना र शंकामा निर्वाचन नहुनु पर्ने कारण नै छैन। यो निर्वाचन सम्पन्न गर्न सरकार कटिबद्ध छ।’ उनले त्यसका लागि सम्पूर्ण शान्ति सुरक्षाको अवस्था तत् अनुरूप मजबुद गरिंदै लागिएको जानकारी दिए। मन्त्री अर्यालले हाल देशभर ४,५५२ कैद बन्दी फरार रहेको र ती मध्ये पनि कर्तव्य ज्यान र जघन्य अपराधका धेरै न्यून रहेको र कुल ७२७ हात हितयार सरकारले फिर्ता ल्याइसकेको जानकारी गराए। यस्तै, मन्त्री अर्यालले अहिलेको सरकारको प्रमुख दायित्व विधिको शासन, हस्तक्षेप मुखी प्रशासन र भ्रष्टाचार शून्य सहनशीलता अन्त्य नै रहेको उल्लेख गरे।

‘कुशासन र वेथितिकाविरुद्ध जेन(जी युवाहरूले उठाएका माग र भाद्र २३ र २४ गतेको घटना पश्चात् सरकार र गृह प्रशासनले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन, सेवा प्रवाहको प्रभाकारिता र समन्वयात्मक कार्यमा निष्ठा पूर्वक कार्य गरिरहेका छौँ,’ मन्त्री अर्यालले भने। मन्त्री अर्यालले भने, ‘भाद्र २३ र २४ गतेको घटना पश्चात् सुरक्षा संयन्त्रहरूको कार्यसम्पादन दैनिक प्रशासनिक कार्यमा समेत असर परेको थियो। भौतिक पूर्वाधार, सवारी साधनमा क्षति पुगेको कारण नियमित कार्यहरूमा समेत प्रभाव परेकोमा अब हामी लयमा फर्केका छौँ र सुरक्षाको अवस्था पनि सामान्य बनेको छ। सबैको प्रयास,सहयोग र रचनात्मक सुझावको लागि धन्यवाद दिन चाहन्छु।’

सरकारले वार्ता, संवाद र छलफललाई प्राथमिकता दिएको उल्लेख गर्दै भने, ‘हामी कसैलाई काखा र पाखा नगरीकन सबैका कुरा सुन्छौँ, सुनेका छौँ र सुनिरहन्छौं। यो सरकार सबैको साझा भएको हुँदा सबैका भावनालाई समेट्दै चुनावमा होमिसकेको अवस्था हो। लोकतान्त्रिक पद्धतिमा निर्वाचन अपरिहार्य छ।’ मन्त्री अर्यालका अनुसार चुनावको तयारीका सन्दर्भमा केही चुनौतीहरू बाहिर आएका छन्। ती चुनौतीहरू कतिपय मनोवैज्ञानिक पनि छन्। सरकार कानुन कार्यान्वयनमा प्रतिबद्ध रहेकोस हत्या हिंसाको पक्षमा नरहेकोस अराजकतालाई नियन्त्रण गर्न प्रतिबद्ध रहेको र सोही किसिमबाट संयन्त्रहरूलाई परिचालन गरिरहेको हुँदा यी मनोवैज्ञानिक सुरक्षाका चुनौतीका सन्दर्भमा ढुक्क हुन आग्रह गर्दछु। सबै राजनीतिक दल, नागरिकहरूमा आह्वान गर्दै मन्त्री अर्यालले भने, ‘देश बनाउने अभिभारा सबैको हो प्रत्येक नागरिक यो राज्यका सदस्य हुन्। जसका लागी सरोकारवालासंगको समन्वय र सहकार्यलाई थप सुदृढ बनाइनेछ।’



Post Comment