२० चैत, जनकपुर ।

मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा छड्के अनुगमन गरेका छन् । गृहमन्त्री महतोले शुक्रबार विहान प्रादेशिक अस्पताल जनकपुरको आकस्मिक कक्ष, प्रसुती गृह, डाईलाईसिस विभाग, आईसीयु र ओपिडि विभागको अनुगमन गरेका हुन् । सो क्रममा उनले विरामीहरुसंग पनि सोधपुछ गर्नुका साथै अस्पतालका निर्देशक डा.जामुन प्रसाद सिंहसँग अस्पतालबारे जानकारी लिएका छन् ।

अस्पतालका निर्देशक डा. सिंहले अस्पतालमा विद्यमान कर्मचारी दरबन्दी, सरसफाईको अभावको बारेमा गृहमन्त्री महतोलाई ध्यानाकर्षण गराएका थिए । साथै उनले राजनिति पहुँचका कारण स्वास्थ्य क्षेत्रमा हुनुपर्ने लगानी विभिन्न आसेपासेको भरणपोषणका निम्ति खर्च हुने गरेको गुनासो सुनाएका थिए । गृहमन्त्री महतोले अनुगमन पश्चात सञ्चारकर्मीहरुसंग कुरा गर्दै आफ्नो मन्त्रालय मातहतमा नभएपनि आगामी बजेटमा यस अस्पतालको सरसफाई र अन्य आवश्यक सरसामान खरीदका निम्ति बजेट बिनियोजन गर्ने जानकारी दिए।

उनले तत्कालका लागि निर्देश डा. सिंहले ध्यानाकर्षण गराएका कर्मचारी दरबन्दी लगायतका समस्याहरु आजै सम्बन्ति निकायसंग समन्वय गरेर समस्या सामाधान गर्ने प्रतिबद्धता जाहेर गरे । गृहमन्त्री महतोले जनकपुरधामको सरसफाई र फुटपाथ व्यवस्थापनको कार्य लगभग सम्पन्न भएकोले अब स्वास्थ्य र त्यसपछि शिक्षा क्षेत्रमा सुधार गर्ने लक्ष्य राखेको बताए । उनले हालका लागि धनुषा जिल्ला केन्द्रित भएपनि यहाँको समस्याहरु सामाधान हुने वित्तिकै प्रदेशका अन्य जिल्लाहरुमा पनि गएर सो स्थानका समस्याहरु सामाधान गर्नेतर्फ लाग्ने जानकारी दिए । गृहमन्त्री महतोले करिब एक हप्तादेखि जनकपुरधामको फुटपाथ खाली गराउन आफै डोजर सहित बजारमा निस्किएका थिए । अहिले जनकपुरधामको अधिकांश फुटपाथ खाली भएको छ ।