२४ माघ २०८२, शुक्रबार

तत्काल कसैलाई कार्यवाहक दिने पक्षमा छैनन् देउवा

२७ असोज, काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्काल कसैलाई कार्यवाहक नदिने बताएका छन् । कार्यवाहक सभापति दिएर महाधिवेशनमा जाने विषयमा चर्चा परिचर्चा भइरहँदा देउवाको सचिवालयले अहिलेसम्म कार्यवाहक दिने विषयमा कुनै छलफल नै नभएको बताएको हो । देउवाका स्वकीय सचिव भानु देउवाले कार्यवाहक दिने विषयमा कुनै छलफल नै नभएको बताए ।

‘अहिलेसम्म कार्यवाहक दिने विषयमा छलफल नै भएको छैन,’ स्वकीय सचिव भानुले रातोपाटीसँग भने, ‘तयारी पनि केही गरिएको छैन ।’ मंगलबार बोलाइएको केन्द्रीय समिति बैठकमा भने देउवा उपस्थित हुनेछन् । गत भदौ २४ को जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित आफ्नै निवासमा आन्दोलनकारीबाट कुटिएका सभापति देउवा अहिलेसम्म सार्वजनिक रूपमा देखिएका छैनन् । स्वकीय सचिव भानुले मंगलबारको केन्द्रीय समिति बैठकमा देउवा सहभागी हुने जानकारी दिए । बैठकमा उपस्थित भएर सम्बोधन गर्ने देउवाको तयारी छ । पार्टीका एक पदाधिकारीका अनुसार बैठक लामो समयसम्म चल्यो भने आफू उपस्थित भएर सम्बोधन गर्ने र बैठकभरका लागि मात्रै कार्यवाहक दिनसक्ने विषयमा भने कुराकानी भइरहेको छ ।

तर, महाधिवेशन नहुञ्जेलसम्मका लागि कार्यवाहक दिने सोचमा देउवा नरहेको ती पदाधिकारीले  बताए । आगामी मंसिर मसान्तमा देउवाको चार वर्षे कार्यकाल समाप्त हुँदै छ । देउवा अब पार्टी विधान अनुसार सभापतिमा दोहोरिन पाउँदैनन् । देउवा स्वयंले गत वर्षदेखि नै आफूले राजनीतिमा अब अवकाश लिने बेला भएको बताउँदै आएका छन् । मंगलबार बस्ने केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोक्ने र त्यो महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्ने पक्षमा देउवा रहेका उनलाई पछिल्लो समय भेटेका नेताहरू बताउँछन् । जेनजी आन्दोलनपछि गत भदौ २८ गते, असोज ३ गते र असोज २३ गतेदेखि दैनिक रूपमा बसिरहेको पदाधिकारी, पूर्वपदाधिकारी र कार्यसम्पादन समिति बैठकको सभापतित्व उपसभापति पूर्णबहादुर खड्काले गरिरहेका छन् ।

मंगलबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकको मुख्य एजेन्डा महाधिवेशन छ । प्रवक्ता डा. प्रकाश शरण महतले शनिवार पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सभापति देउवाले कार्यवाहक दिने विषयमा कुनै चर्चा नभएको बताएका थिए । तर, पूर्वउपसभपाति विमलेन्द्र निधि र पूर्वमहामन्त्री डा. शशांक कोइरालाले भने देउवाले कार्यवाहकको जिम्मेवारी दिनुपर्ने बताइरहेका छन् । देउवाका विश्वासपात्र मानिने केन्द्रीय सदस्य उदयशमशेर राणाले आइतबार महाधिवेशन गर्ने गरी कार्यवाहकको जिम्मेवारी दिन सभापति देउवालाई सुझाव दिएका थिए ।

Post Comment

छुटाउनुभयो कि ?